काग तिहार

पालिका डायरी
१७ कार्तिक २०७८

 

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यही तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ ।

पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यसवर्ष भनें आजकै दिनमा नर्क चर्तुदशी परेको छ । आजकै दिन त्रयोदशी र चर्तुदशीको तिथी परेको हो र चर्तुदशी पनि परेकाले बिसं २०७८ को तिहारमा काग र कुकुर तिहार एकैदिन परेको हो । नर्क चर्तुदशीका विषयमा केहिपछि हामी चर्चा गर्नेछौं ।

काग तिहारमा चाँही कागलाई यमराजको सन्देश बाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।

काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुति रहेको छ, काग एउटा बाठो पन्छी हो र यसले हाम्रो बालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्रालाई खाइदिएर अन्न उत्पादनमा र मांशजन्य फोहरहरू खाइदिएर सरसफाइमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटो देखि श्वास फेर्ने हावा अनि वर्षीने बादलदेखि गर्जिने बाघसम्म, कुकुर देखि काग अनि बोटविरुवा सम्म सबैकुरामा पवित्रता र भगवान तत्त्वको गुण स्विकारिएको छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाउने चलन थियो तर यसवर्ष चाँही धनवन्तरि जयन्ती एकदिन अगाडि सरेको हो।

आज यमदीप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदीप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

सेलरोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका सङ्गीतहरू गुञ्जायमान यस पर्वको हर्षोल्लास वास्तवमै अद्भूत छ । काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइने बारेमा धेरै किंवदन्तीहरू पाइन्छन् । जसमध्ये एकदमै प्रचलित कथा यम र उनकी बहिनीको प्रसङ्ग यहा प्रस्तुत गर्न जाँदैछौ ।

मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्न धेरै इच्छा भएर विभिन्न माध्यमहरूमाफर्त दाजुलाई भेट्न आउन निम्तो पठाइन् । उनले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफै गएर दाजुलाई भेटेको प्रसङ्ग छ । दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दूबोको माला लगाइदिई पूजा गर्दै भाइटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाइटीका लगाएपछि तिहारको विधिवत अन्त्य हुन्छ ।

काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ ।

उता सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भने अलिक फरक ढङ्गले काग तिहार मनाइन्छ । सुदूरपश्चिमको स्थानीय भाषमा नरहरि भनिने यस चाड माघे संक्रान्ति अर्थात पुसे तिहार भनेर मनाइन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठा परिकारहरु खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ ।

काग र कोइलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामी सबैले सुनिआएको छौं । कोइलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यसको अण्डा कोरलेर कोइलीको बच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यसअर्थमा चर्को स्वरमा नमिठोसँग कराउने कालो काग नै सुरिलो स्वर भएका हरेक कुहू कुहू गरेर बसन्तमा कराउने कोइलीको जीवनरक्षार्थ अभिभावक हो, काग र कोइलीको यो सहअस्तित्वले हामीलाई धेरै सकारात्मक कुराहरूको उदाहरण दिएको छ ।

घरघरमा केराका बोटहरू लगायत अन्य प्रकारका झिलीमिली द्वारहरु बनाएर साँझमा दीप प्रज्ज्वलन गरिन्छ । विभिन्न प्रकारका पटाकाहरू पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात जुटको भित्रपट्टिको हलुका लठ्ठिहरुको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाइलोको यो माहौलमा सजग र सुरक्षित रहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाउँघरमा उत्साहित मान्छेहरूले उल्लासपूर्वक तिहारमा देउसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्याउने आदि तैयारी शुरु भइसक्यो होला, ल है सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस् हामी सबैको आँगनीमा सदासर्वदा कागले हर्ष र उत्साहको सु समाचारहरु ल्याईरहोस्, शुभकामना !

 

प्रतिक्रिया
thumb