फेरि बढ्दै कोरोना त्रास, संक्रमण बढेपछि विभिन्न देश ‘लकडाउन’को तयारीमा

पालिका डायरी
८ कार्तिक २०७८
फेरि बढ्दै कोरोना त्रास, संक्रमण बढेपछि विभिन्न देश ‘लकडाउन’को तयारीमा

 

काठमाडौं / केही महिना मत्थर भएको कोरोना संक्रमण पुन विभिन्न देशमा फर्कन थालेको छ । सबै गतिविधि लयमा ल्याइसकेको चीनले बढ्दो संक्रमणलाई लिएर सतर्कता अपनाउन सुरु गरेको छ ।

संक्रमण दर बढेको रुस निषेधाज्ञाको सुरसारमा छ । आगामी नोभेम्बर ७ देखि ३० सम्मका लागि सेन्ट पिटर्सबगसहित मुख्य शहरमा पसललगायतका क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । संक्रमण दर यही रफ्तारमा बढेको अवस्थामा अन्य शहरमा पनि प्रतिबन्ध लगाउने भन्दै सचेत रहन रुस सरकारले आग्रह गरेको छ ।

बेलायत, युक्रेन, मेक्सिको, थाइल्याण्ड, जर्जिया, लिथुवानिया, दक्षिण कोरिया, मङगोलिया, अष्टेलियालगायतका देशमा पनि अनपेक्षित संक्रमणको प्रभाव देखिएको छ । संक्रमण बढ्न थालेपछि बेलायत सरकारले वुस्टर डोज खोपलाई प्रभावकारी बनाउने योजना ल्याएको छ । युक्रेनमा पठनपाठन ठप्प छ ।

छिमेकी देश भारत, पाकिस्तानलगायत दक्षिण एसियाली देशमा दोस्रो, अमेरिका, बेलायतलगायत देशमा तेस्रो र चौथो लहरको संक्रमण फैलिसकेको छ । हाल डेल्टा प्लस भेरियन्टको प्रभाव बढी देखिन्छ । उत्परिवर्तित भएर फैलिएको डेल्टा प्लस भेरियन्ट अझ छिटो फैलन सक्ने भन्दै विज्ञहरूले सचेत गराएका छन् ।

विश्व स्वास्थ्य संगठनले समेत कोरोना महामारी पूर्ण रूपमा नसकिएका कारण स्वास्थ्य सुरक्षा अपनाउन छाड्न नहुने जनाएको छ । संक्रमण नियन्त्रण गराउने जिम्मा आफ्नै हातमा नै रहेको भन्दै संगठनले कोरोना संक्रमण आफैं नियन्त्रण नहुने निष्कर्ष निकालेको छ ।

नेपाल सरकारले असोज १५ देखि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको थियो । तर, परिणाम प्रक्षेपण जस्तो देखिएन । भदौ महिनादेखि केही कम हुँदै गएको संक्रमणका कारण तेस्रो लहर नआउने सम्भावना विज्ञहरूले औंल्याएका थिए ।

तर, विभिन्न देशमा संक्रमण दोहोरिन, तेहरिन थालेपछि संकटको कालोबादल नफाटेको बुझिन्छ । यो निदानको एउटै उपाय भनेको आफ्नो डाक्टर आफैं हुनु हो । नबिर्सौं, कोरोना संक्रमणका कारण हालसम्म विश्वमा ४९ लाख ६५ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने २४ करोड ४५ लाख बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया