मकवानपुरका कृषि अधिकृत चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित

पालिका डायरी
३ कार्तिक २०७८, २१:२६

 

हेटौंडा÷मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका छन् । मकवानपुरमा कार्यरत चौधरी सँगै विभिन्न विधाका पाँचजना राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका हुन् । नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भेरी अस्पताल, नेपालगञ्ज बाँकेका नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन) शिला शर्मा, भक्तपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम, र भाषा आयोगका उपससचिव डा. लोक बहादुर लोप्चनलाई ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मान गर्ने निर्णय भएको हो ।
हरेक वर्ष जस्तै, यस वर्ष पनि अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको हो । राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका चौधरीको प्रोफाइल यस्तो छ ।
चाँडो काम पाईन्छ भनेर जेटिए पढे
सिरहाको महेश्वरी गाउँमा जन्मिएका चन्द्रकान्तको परिवारको आर्थिक अवस्था कमजोर थियो । कक्षा ५ सम्म गाउँकै महेश्वरी विद्यालयमा पढेका चन्द्रकान्तको परिवारले त्यो भन्दा बढी पढाउन नसक्ने भएपछि कक्षा ६ देखी कक्षा १० सम्म मामा घरमा बसेर पढे । उनका काका पनि कृषि क्षेत्रमै थिए । उच्च शिक्षाका लागि अरु विषय पढ्न परिवारको आर्थिक अवस्थाले नदिने र जे.टि.ए. पढ्दा काम पनि चाँडै पाईन्छ भनेर काकाले सुझाएपछि उनी जे.टि.ए. पढ्न गए । पढाई सकेपछि लोकसेवा परीक्षा दिएका चन्द्रकान्त २०६० सालमा प्राविधिक चौथोबाट सरकारी सेवामा प्रवेश गरे ।

व्यवसायिक तरकारी खेतिको क्षेत्र बिस्तार
थोरै क्षेत्रमा खेती गर्दा लगानी बढी लाग्ने र घर खर्चलाई मात्र पुग्ने हुन्छ । क्षेत्र विस्तार गरेर खेती गर्दा राम्रो कमाउन सकिन्छ भनेर उनले शुरुमा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का ५÷७ जना किशानहरु भेला गरेर आफ्नो कुरा राखे । १० कठ्ठा जग्गामा खेती गर्ने कृषक अहिले ८÷९ बिगाहामा खेती गर्ने भएका छन् । उनले वडा नं. ८ मा बेमौषमी तरकारी खेतीको सम्भावना राम्रो भएको देखे । यो कुरा जनप्रतिनिधिहरु समक्ष राखे । २०७५ सालमा गाँउपालिकाबाट बजेट बिनियोजन गरेर बेमौषमी तरकारी क्षेत्र घोषणा भयो । हाल त्यस क्षेत्रका ८२ जना किशानहरु बेमौषमी खेती गरेर आमदानी लिईरहेकाछन् ।

स्थानीय तहमा माटो परिक्षणको प्रयोगशाला स्थापना
प्रदेश सरकारले माटो परीक्षण प्रयोगशालालाई सहयोग गर्ने कार्यक्रम थियो । प्रदेश सरकारले ५ स्थानीय तहलाई प्रयोगशालाका सामानहरु सहयोग ग¥यो । ५ वटा मध्ये सबै भन्दा पहिले मकवानपुरगढी गाउँपालिकाले ल्याब सञ्चालन ग¥यो । पहिले अदुवामा रोग लाग्ने समस्या थियो । अहिले माटो परीक्षण गरेर अदुवा लगाउदाँ उत्पादन बढेको छ । यसले गर्दा कृषकहरु अदुवा खेती प्रती आकर्षित भएकाछन् ।

सहकारी मार्फत बजारीकरण
कृषकले उत्पादन बढाए पनि उचित मुल्य नपाउने समस्या समाधान गर्न उनले सहकारी मार्फत बजारीकरण अवधारणा पालिकामा पेश गरे । पालिकाले बजेट छुट्यायो । त्यसपछि खुला प्रतिश्पर्धाबाट एउटा सहकारी पसल सञ्चालनमा आयो । त्यसपछि कृषकले कम मूल्य पाउने र उपोभोक्ताले बढी मूल्य तिर्नु पर्ने समस्या न्यूनीकरण भयो । त्यसमाथी कृषकलाई प्रोत्साहन गर्न धान, गँहु, मकै, कोदो, फापर जस्ता अन्न सहकारी मार्फत बिक्रि गर्दा पालिकाले किलोको २ रुपैया थप दिने र सहकारीले पनि भण्डारन गरे बापत किलोको २ दुई रुपैया पाउने व्यवस्था लागु गर्न पनि उनले नै पहल गरे ।

किसान क्रेडिट कार्ड
दुई लाख सम्म ऋण उपलब्ध हुने गरी किशान क्रेडिट कार्ड २५ जनालाई वितरण गरिएको छ । यसको फोकल पर्सनको रुपमा चन्द्रकान्त आफै छन् । उनले करिब ७० जना किशानको लागि क्रेडिट कार्ड सिफारिस गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले प्रकृया पुरा गरेर कार्ड मार्फत कर्जा उपलब्ध गराउँदछ । विशेष गरेर व्यवसाय सुरुवात गर्ने साना किशान जस्तै, २ वटा गाई पाल्ने, १० वटा बाख्रा पाल्ने कृषकहरुलाई लक्षित गरेर यो कार्यक्रम ल्याईएको हो ।
कृषक व्यवसायिक खेतिबाट मनग्गे आमदानी गररे खुसी अनुहार लिएर कार्यालय आउँदा रमाउने चौधरीले व्यवसाय, बजार र प्रविधीसँग किशानलाई अभ्यस्त बनाएर एक उदाहरणीय कृषि प्राविधिकको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

 

प्रतिक्रिया