डिग्री पास चेपाङ÷दुर्गम गाउँमै शिक्षा बाड्नुको मज्जा बेग्लै
सुनिता बिष्ट, हेटौंडा / मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ९ का ३४ बर्षिय बिरबहादुर प्रजा, चेपाङ परिवारका एक सदस्य हुन् । जिल्लाको विकट मानिने क्षेत्रको रुपमा रहेको कैलाश गाउँपालिका । त्यसमा पनि सबैभन्दा पिछडिएको समुदायको रुपमा मानिने चेपाङ परिवारका छोरा । गाउँमा शिक्षित मानिसको संख्या खोज्न औंला भाँचेर गन्न पर्ने अवस्था उस्तै । गिठ्ठा भ्याकुर, गाउँमै फलेका कोदो तथा मकैको खानेकुराको जोहो समेत कसरी गर्ने भन्ने समस्या झल्दै आएका विरबहादुरका बुवा कृष्णबहादुरलाई आफ्नो पढाई पुरा गर्ने रहर बीचमै रोकिएपछि आफ्ना छोरा छोरीहरुलाई कसरी पढाएर उच्च शिक्षा दिन सकिएला भन्ने चिन्ताले सताइरहन्थ्यो । अन्नतः उनका सपना साकार हुन सफल भयो ।
२०४४ सालमा जन्मिएका विरबहादुर कक्षा १० सम्म गाउँकै कालिका माध्यामिक बिद्यालयमा अध्ययन गरे । २०६२ सालमा एस.एल.सी परिक्षा दिएपछि उत्कृष्ट नम्बर ल्याउँदै माध्यामिक तहको पढाई पूरा गरे । उच्च शिक्षाको लागि हेटौंडा बजारमा झरे । अनि मेजर नेपाली बिषय लिएर कक्षा ११ मा पढ्नको लागि मकवानपुर क्याम्पसमा भर्ना भए । कक्षा ११ देखि ब्याजलर सम्मको पढाईको यात्रा सोही क्याम्पसबाट पूरा गरिसकेपछि मास्टर डिग्रीको लागि हेटौंडा क्याम्पसमा भर्ना भए । बीचमा केहि समय पढाईलाई निरन्तरता दिन नसकेपनि गत बर्ष प्रजाले मास्टर्स डिग्री गरिसकेका छन् ।
हाल उनको हातमा डिग्रीको सर्टिफिकेट छ । कैलाशकै चेपाङ परिवार मध्ये उनी शिक्षित व्यक्तीका नामले प्रख्यात छन् । चेपाङ समुदायकै उच्च शिक्षा हासिल गरेका युवा भनेर प्रजा चिनिने गरेका छन् । त्यसो त उनले डिग्रीको सर्टिफिकेट हातमा च्यापेर राम्रो जागिरको लागि न देशको राजधानी काठमाण्डौं जान चाहे । न त विदेश गएर राम्रो कमाइ गरौंला भन्ने तर्फ उनको मन लालायित भयो । आफु जस्तै साना कलिला चेपाङ समुदायका बालबालिकालाई कसरी शिक्षित बनाउने भन्ने तर्फ मात्रै उनको मन अड्डियो । र उनी अहिले आफूले अध्ययन गरेकै कालिका माध्यामिक बिद्यालयमा पढाउने काम गर्दै आइरहेका छन् ।
प्रा.वि तहको लाइसेन्स प्राप्त शिक्षक प्रजा अहिले साना बालबालिकाहरुलाई क, ख सिकाउँदैमा व्यस्त हुने गरेका छन् । पढाई अनुसारले अन्त जहाँ पनि जागिर पाइने भएपनि आफुले पाएको शिक्षाको सदुपयोग दुर्गम क्षेत्रका बालबालिकालाई बाड्न सके जीवन जिउनुको मज्जा नै बेग्लै हुने उनी बताउँछन् ।
‘जागिर त खोजेको भए यो भन्दा पनि राम्रै पाइन्थ्यो होला । तर मलाई अरु पेशामा लाग्न त्यती मन लागेन । किनकी मेरो बुवाले ठुलो सपना देखेर मलाई उच्च शिक्षाको लागि जसरी प्रेरित गर्नुभयो र म आज यहाँ छु । त्यसरी नै म पनि यो गाउँका साना बालबालिकाहरु अझै बिषेश गरेर चेपाङ समुदायकै बालबालबालिकाहरुलाई म जस्तै शिक्षित बनाउन चाहान्छु । कलिलै उमेरमा पढाई छोडेर बिवाह गर्दै किशोरी अवस्थामै बच्चा जन्माउने चेपाङ बालिकाहरुलाई मुक्ति दिन सकिन्छ कि भन्ने समेत प्रयासमा छु,’ उनले भने ।
विरबहादुरका बुवा कृष्णबहादुरले पनि कक्षा १० सम्म पढेका र एसएलसीमा २ बिषय लागेर अनुत्तिर्ण भएपछि उनको पढाई सफल हुन नपाएको बताउँछन् । ‘यहि आफुले पढ्न नपाएको पीडालाई कम गर्न पनि आफ्ना छोराछोरीलाई मेलापात गरेर भएपनि पढाउँछु भन्ने अठोट गरेको थिएँ ।’ त्यही सपना आज पूरा भएको छ । चेपाङ परिवार मध्येकै धेरै पढेका छोराछोरीको बुवा भनेर आफ्नो परिचय पाउँदा छुट्टै आभाष हुने उनी बताउँछन् ।
गाउँका अरुका छोराछोरीहरु सानामा पढ्न विद्यालय गएपनि २÷४ कक्षा पढ्दापढ्दै बीचमै पढाइ छोडेर बसिदिने, छोरीहरुले कलिलै उमेरमा बिवाह गरेर बच्चा जन्माउने जस्ता समस्याहरु आँखै अघी झलझल देखिरहेका कृष्णबहादुरको सपना भने आफ्ना बालबच्चालाई साक्षर चेपाङ भनेर चिनाउने ठुलो रहर थियो । सोही सपना पूरा भएकोमा खुसी लागेको उनी बताउँछन् । विरबहादुरका परिवारमा उनी सँगै उनका भाई र बहिनीले पनि प्लस टु र व्याजलर्स गर्न सफल भएका छन् ।
नेपाल विभिन्न जातजातिको संगमस्थल हो । हाल नेपालमा १ सय २५ थरि जातजाति रहेको तथ्यांक २०६८ को जनगणनाले पुष्टि गरेको छ । नेपालका विभिन्न जनजातिमध्ये आधुनिकीकरणको रेखाबाट अलि पर रहेको जनजाति चेपाङ हो । चेपाङहरू विकास र शिक्षामा पनि निकै पछाडि परेका छन् । चेपाङ जातीको मुख्य बसोबास स्थलहरूमा धादिङ, चितवन, गोरखा र मकवानपुर जिल्ला हुन् । जिल्लामा चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा अधिकांश चेपाङ समुदायका मानिसहरु निरक्षर छन् ।