मकवानपुरमा दशैं लक्षित सुरक्षा योजना, भीडभाड नगरी चाडपर्व मनाउन आग्रह

पालिका डायरी
९ आश्विन २०७८, १५:१८
मकवानपुरमा दशैं लक्षित सुरक्षा योजना, भीडभाड नगरी चाडपर्व मनाउन आग्रह

मकवानपुर / जिल्ला सुरक्षा समिति मकवानपुरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारेको छ । दशैं तिहारजस्ता सर्वसाधारणको बढी चहलपहल हुने चाडपर्व लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमसँगै चाडबाडमा हुन सक्ने आपराधिक गतिविधिलाई रोक्न विशेष सुरक्षा योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।‘सर्वसाधारण नागरिकको बढी चहलपहल हुन्छ, कोभिड महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पनि पालना गर्न लगाउँछौं,’ उनले भने, ‘विभिन्न आपराधिक गतिविधि हुन सक्ने हुँदा गस्ती पेट्रोलिङ बढाउँछौं

।’उनका अनुसार सडक, बजार, धार्मिकस्थललगायतको व्यवस्थापनका लागि आवश्यक प्रबन्ध सुरक्षा योजनामा गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेकोले आसन्न चाडपर्वहरू सांकेतिक रूपमा मनाउन जिल्लाबासीसँग गरेका छन् ।

सार्वजनिक सवारीमा सादा पोशाकमा प्रहरी

विभिन्न जिल्लासँग सडक सञ्जाल जोडिएकाले मकवानपुरमा अन्य जिल्लाका सर्वसाधारण पनि उत्तिकै आउने जाने गर्छन् । चाडपर्वमा सबैभन्दा बढी ठगी सार्वजनिक यातायातका साधनमा हुने गर्छ । यातायातका साधनमा हुने असावधानीले कोभिड संक्रमण फैलने जोखिम उच्च छ ।

त्यसका लागि सार्वजनिक यातायातका साधनहरूमा कोभिड–१९ संक्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रुहरू राख्न रोक लगाउने, राजमार्गमा हुनसक्ने दुर्घटना, चक्काजाम, बन्दलाई मध्यनजर गर्दै निर्वाध रूपमा सवारीसाधन सञ्चालन गर्ने वातावरण बनाउने प्रजिअ पाण्डेले बताए ।चाडपर्वको समयमा यात्रुबाहक सवारी साधनहरूलाई बढी भाडा असुल्न नदिन सादा पोशाकमा प्रहरी परिचालन गर्ने, सवारी साधनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा तत्काल कानूनी दायरामा ल्याउने प्रजिअ पाण्डेले बताए ।

मन्दिरमा भीडभाड नगराउन निर्देशन

चाडपर्वका बेला सर्वसाधारण मन्दिरमा बढी पुग्ने हुँदा भीडभाड बढ्ने गर्दछ । जिल्ला सुरक्षा समितिले मठमन्दिर लगायत अन्य धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी भीडभाड नहुने सुनिश्चतता गरी सहज वातावरणमा पूजाआजा गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । धार्मिक स्थानहरुमा भीडभाडको समयमा गरगहना लुटपाट तथा चोरी हुने कार्यलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिनेछ ।

प्रतिक्रिया