जनताको बहुदलीय जनवादलाई हामीले आत्मसात गर्न चाहन्छौं : अध्यक्ष नेपाल

पालिका डायरी
७ आश्विन २०७८, २१:००
जनताको बहुदलीय जनवादलाई हामीले आत्मसात गर्न चाहन्छौं : अध्यक्ष नेपाल file photo

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज)लाई मात्मसात गर्न चाहेको बताएका छन् । उनले भनेका छन्, ‘जनताको बहुदलीय जनवादलाई हामीले आत्मसात गर्न चाहन्छौं, र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं ।’

विहीबार पार्टीनिकट युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जबजको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

त्यस्तै उनले माओ, होचिमिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको बताउँदै त्यसबाट सिकेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । उनले भनेका छन्, ‘चीनमा माओ, देङसेवापिङ जस्ता नेताहरु जन्मे । त्यसैगरी, भियतनाममा होचिमिन्हलगायतका नेताहरूले कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाए ।’

उनले थप भने, ‘हामीकहाँ पनि पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी तुलसीलाल जस्ता योद्धाहरु देखा परे । ती सबै योद्धाहरुप्रति हामी गौरव बोध गर्दछौं । उहाँहरुको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं ।’

त्यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने पनि बताएका छन् ।

प्रतिक्रिया