मृत भेटियो चितवनको जंगलमा ३८ वटा सन्तान जन्माएको चर्चित हात्ती ‘रोनाल्डो’

पालिका डायरी
३ आश्विन २०८३, १२:३९
मृत भेटियो चितवनको जंगलमा ३८ वटा सन्तान जन्माएको चर्चित हात्ती ‘रोनाल्डो’

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ।

निकुञ्जको विषहजारी पोस्टनजिकै रोनाल्डो मृत भेटिएको हो।  चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो मृत भेटिएपछि अनुसन्धान सुरु गरिएको छ।

हात्ती कसरी मर्‍यो भन्ने कुरा एकिन भइसकेको छैन। मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाइएको निकुञ्जले जनाएको छ। रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जमा प्रभावशाली र चर्चित जंगली हात्तीका रूपमा परिचित थियो।

निकुञ्जको विवरणअनुसार २०८३ असारसम्म निकुञ्जको केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान हुन्। निकुञ्जमा रहेका जंगली हात्तीको प्रजनन र वंश विस्तारमा रोनाल्डोको योगदान उल्लेख्य रहेको विवरणले देखाउँछ।

यही कारण पनि रोनाल्डो मरेपछि वन्यजन्तु संरक्षणमा चासो राख्नेहरूमा चिन्ता बढेको छ। निकुञ्जले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ।

रोनाल्डोको मृत्यु स्वाभाविक हो वा अन्य कारण भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाइएको छ।

प्रतिक्रिया