कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा आलेमगर लिइन् शपथ

पालिका डायरी
२ आश्विन २०८३, १८:०६

हेटौंडा / बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा आलेमगर नियुक्त भएकी छन् । शुक्रबार मन्त्री नियुक्त भएकी आलेमगरले शुक्रबार नै बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

मन्त्रीको शपथ लिएसँगै आलेमगर दोस्रोपटक बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा सहभागी भएकी छन् । यसअघि उनी शालिकराम जम्मकट्टेल नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री बनेकी थिइन् ।

१९ चैत २०८० मा बिना विभागीय मन्त्री नियुक्त भएकी आलेमगरले ४३ दिनपछि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी थिइन्। त्यसपटक छोटो समय मात्रै मन्त्रालय सम्हाल्ने अवसर पाएकी उनले यसपटक भने कृषि, पशुपन्छी, वन तथा वातावरणजस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारी पाएकी हुन्।

तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी आलेमगर पार्टी एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आएकी हुन्। यसपटक उनी नेकपाबाटै प्रदेश सरकारको मन्त्रिपरिषद्मा सहभागी भएकी छन्।

प्रतिक्रिया