भोटेकोसी बाढीः मकवानपुरका ४ जनाको शव पहिचान

पालिका डायरी
१२ भाद्र २०८३, २०:५२

रसुवा भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूमध्ये हालसम्म मकवानपुरका ४ जनाको शव फेला परेको जनाएको छ।

हालसम्म शव फेला परेर सनाखत हुनेमा हेटौँडा उपमहानगरपालिका-१५ का सुमन गोले सोही वडाका रेशम मगर, हेटौँडा-५ का उद्धव खड्का र धादिङको थाक्रे गाउँपालिका-८, फोगटपुर घर भई थाहा नगरपालिकामा बस्ने राजकुमार आलेमगर रहेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए।

शव फेला परेकामध्ये सुमन रसुवामै कार्यरत थिए भने राजकुमार आलेमगर र रेशम मगर सवारी चालक हुन्। राजकुमार स्कारपियो रिजर्भमा रसुवा गएका थिए।

यस्तै रेशमले टिपर चलाउँदै आएका थिए। सामान लोड गर्न ४/५ दिन लाग्ने भएपछि रेशमले गाडी रसुवा केरुङ नाकामै छोडर ४ दिनअघि घर आएका थिए।

बुधबार लोड हुने पालो आएको भन्ने खबर पाएपछि बिहानै बस चढेर रसुवा हिडेँका थिए। उद्धव खड्का भने श्रीमती र छोरीसहित रसुवा नै बस्दै आएका थिए। उनको शव फेला परे पनि हालसम्म श्रीमती र छोरी भने सम्पर्कविहीन छन्।

यस्तै नेपाली सेनाले उद्धार गरेको लिस्टमा सम्पर्कविहीन भएका मकवानपुरका ६ जनाको उद्धार भएको विवरण हालसम्म प्राप्त भएको छ।

उद्धार हुनेमा सन्तबहादुर स्याङ्तान, दिलबहादुर स्याङ्बो, भीमलाल पहरी, सागर पहरी, अभिषेक पहरी र ताराबहादुर रानामगर रहेका छन्।

अन्य सम्पर्कविहीन मकवानपुरवासी ७५ जनाको अवस्था पत्ता लगाउन सरकारी संयन्त्र, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको जनाइएको छ।

प्रतिक्रिया