‘दिउँसो फोन गरौँला’ भनेका हेटौंडाका सुमन कहिल्यै नफर्किने भए, नवलपरासीमा भेटियो शव

पालिका डायरी
१२ भाद्र २०८३, १८:२६
‘दिउँसो फोन गरौँला’ भनेका सुमन कहिल्यै नफर्किने भए, नवलपरासीमा भेटियो शव

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, भोर्लेका सुमन गोलेको शव नवलपरासीमा फेला परेको छ। गत बुधबार आएको भोटेकोसी बाढीमा रसुवाबाट बेपत्ता भएका गोलेको शव नवलपरासीमा फेला परेको हो।

२६ वर्षका सुमन दुई महिनाअघि मात्रै हाइड्रोपावरमा काम गर्न गएका हुन्। उनी स्काभेटर चालकको रुपमा कार्यरत थिए। त्यसअघि उनी हेटौँडा-१५ मै रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अपरेटरको रूपमा कार्यरत थिए।

‘राम्रो तलब हुन्छ भनेर दुई महिना अघि मात्रै उता काममा गएको थियो,’ सुमनकी छिमेकी निर्मला घलानले भनिन्, ‘बाढी आउने दिन पनि बिहान श्रीमतीसँग फोनमा कुरा भएको थियो रे। नाइट ड्यूटी सकाएर आएपछि बिहान ६ बजे रेविका (सुमनकी श्रीमती) सँग कुरा भएको रैछ। रातभरिको निद्रा छ, अहिले सुत्छु। दिउँसो फोन गरौँला भनेको थियो रे। बिहानै बाढीले बगाएछ।’

रसुवामा बाढी आएको खबर पाएपछि परिवारले सुमनसँग फोन सम्पर्क गर्ने प्रयास गरेको थियो। तर पटक-पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्।निर्मलाका अनुसार बाढी आउनुअघि सुमनका साथीहरूले उनलाई उठेर भाग्न आग्रह गरेका थिए। तर सुमन निदाइरहेकाले समयमै भाग्न नसकेको साथीहरूले बताएको उनको भनाइ छ।

‘हामीले आफैँले देख्न त पाएका छैनौँ। तर साथीहरूले भनेअनुसार सुमन निदाइरहेको बेला बाढी आएको रहेछ। साथीहरूले ‘सुमन उठ्, भाग, बाढी आयो’ भनेर कराएको बताएका छन्। साथीहरूले खिचेको भिडियोमा पनि त्यो आवाज रहेको भन्ने सुनेका छौँ,’ निर्मलाले भनिन्। सुमनको घरमा श्रीमती, चार वर्षीय छोरा र एक जना भाइ छन्। रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका सुमनको शव शुक्रबार नवलपरासीबाट घर ल्याउने तयारी गरिएको परिवारले जनाएको छ।

शव घर ल्याउनका लागि सोही वडाका अध्यक्ष सुनिल मोक्तानको नेतृत्वमा टोली नवलपरासी गएको बताइएको छ। शव पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परिवारको जिम्मा लगाएर घर ल्याउने तयारी गरिएको हो।

प्रतिक्रिया