एमालेलाई सघाउँदा राप्रपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

पालिका डायरी
३ भाद्र २०८३, १९:३२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेताबाट उद्धव थापालाई हटाउने तयारी गरिएको छ।

पार्टी हित विपरीत कार्य गरेको भन्दै बहुमत सांसदको हस्ताक्षरसहित थापालाई दलको नेताबाट हटाउने प्रक्रिया अघि बढेको राप्रपा बागमती प्रदेशका एक सांसदले बताए। संसदीय दलका नेता थापाविरुद्ध भदौ १ गते नै अविश्वासको प्रस्ताव दर्ता भएको जनाइएको छ।  ‘सोमबार नै अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ। दलको नेता फेर्न बहुमत सदस्यले हस्ताक्षर गरिसक्नुभएको छ,’ ती सांसदले नेपालखबरसँग भने।

पार्टीको हितविपरीत काम गरेकाले हटाउने प्रक्रिया सुरु गरिएको उनको भनाइ छ। ‘दलको नेता परिवर्तन गर्ने अधिकार संसदीय दलको कार्यालयलाई नै हुने हो,’ ती सांसदले भने, ‘उहाँले पार्टीको निर्देशन विपरीत निर्णयहरू गर्दै हिड्नुभएको भनेर पार्टी केन्द्रले पनि कारबाही अगाडि बढासकेको छ। अब दलको नेता पनि परिवर्तन हुन्छ।’

संसदीय दलका नेता थापाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावको पक्षमा आठ सांसदको हस्ताक्षर रहेको राप्रपाका अर्का सांसदले बताए। उनका अनुसार अहिले मन्त्री बन्ने लाइनमा लागेर सहकार्य गर्न जानेबाहेकका सांसदहरूले अविश्वासको पक्षमा हस्ताक्षर गरेका छन्।  राप्रपा केन्द्रीय नेतृत्वले तत्कालिन अवस्थामा सरकारमा नजाने निर्णय गरेको थियो। त्यसविपरीत नेता थापाले भने निरन्तर एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने बचन दिँदै आएका थिए।

बुधबार एमालेका नेता किरण थापालाई मुख्यमन्त्रीको दाबी पेश गर्न राप्रपाको १२ जना सांसदकै समर्थन रहेको उल्लेख गर्दै थापाले समर्थन जनाएका थिए। उनको गतिविधिले अनुशासन उल्लंघन गरेको भन्दै राप्रपा केन्द्रीय कमिटीले १२ घण्टे लिखित स्पष्टीकरण समेत माग गरेको छ।

प्रतिक्रिया