झार समात्दै पौडिएर बाँचिन् खोलाले बगाएकी सीमा

पालिका डायरी
२ भाद्र २०८३, २२:२२

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित भित्री बासुदेव खोलाले बगाएका चार जना बालबालिकामध्ये हेटौँडा–१९ डाँडागाउँकी १३ वर्षीया सीमा भोलन पौडिएर ज्यान जोगाउन सफल भइन्।

मंगलबार दिउँसो ४ बजे बस्तिपुरमा रहेको निर्मल माध्यामिक विद्यालयबाट छुटेर घर जाने क्रममा ४ः४५ बजेतिर उनीहरूलाई खोलामा आएको बाढीले बगाएको थियो। एउटै गाउँका चार जना बालिकाहरू हात समातेर खोला तर्दै गर्दा सुरुमा ८ वर्षीया रोशनी स्याङ्तानलाई भेलले बगाएको हेटौँडा अस्पतालमा उपचारत सीमाले बताइन्।

‘हामी चारजना सँगै हात समातेर खोला तर्दै थियौँ,’ उनले नेपालखबरसँग भनिन्, ‘सुरुमा सानु बहिनीलाई बगायो। त्यसपछि सुमित्रा बहिनीलाई बगायो। त्यसपछि मलाई पनि बगायो। बगाइसकेपछि को को कता पुगे, थाहा पाइनँ।’

पानीको भेलले लछारपछार बनाएर अलि तल पुगेपछि झारी समातेर खोलाबाट निस्कन सकिएको सीमा बताउँछिन्।

‘मैले केही देखेको थिइनँ। हातमा एउटा झारी जस्तो आयो। त्यही झार समातेर बाहिर निस्किएँ,’ उनले थपिन्।

सीमा खोलाबाट निस्किँदा वरपरका मानिसहरुले खोजीकार्य सुरु गरिसकेका थिए। मकवानपुर प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१९  बस्तिपुरका दिप स्याङताङकी छोरी अन्दाजी वर्ष ८ कि रोसनी स्याङताङको शव बगाएको स्थानबाट ५ सय मिटर तल रुखको जरामा अडिएको अबस्थामा फेला परेको छ।

सोही ठाउँका टीकाराम भोलनकी छोरी वर्ष ११ की सुमित्रा भोलन र राजकुमार भोलनकी छोरी वर्ष १२ की बिनिता भोलन बेपत्ता छन्। उनीहरूको भोलि बिहान ६ बजेपछि मात्रै खाजी सुरु गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया