स्कुटर दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु

पालिका डायरी
२ भाद्र २०८३, १२:४९

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाँडा, मत्स्यपालन केन्द्र नजिक कान्तिलोकपथ सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मंगलबार बिहान सानोपोखराबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३-०२८ प ९७८९ नम्बरको स्कुटर अनियन्त्रित भई सडक छेउको पानी जमेको नालामा खसेको थियो। दुर्घटनामा स्कुटर चालक काभ्रेको बनेपा नगरपालिका–३ घर भई हाल हेटौंडा–६ चौघडामा बस्दै आएका २५ वर्षीय आवास रञ्जितकारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान मर्निङ वाकमा निस्किएका स्थानीय बासिन्दाले नालामा स्कुटरसहित युवक लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा  प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया