बाघको आक्रमणबाट भरतपुरमा ६५ वर्षीय मंगले बोटेको मृत्यु

पालिका डायरी
२६ श्रावण २०८३, १८:५०

भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघको आक्रमणबाट ६५ वर्षीय मंगले बोटेको मृत्यु भएको छ। बोटे मंगलबार बिहान मर्निङवाकमा निस्किएका बेला बेपत्ता भएका थिए।

बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका बोटे एक्कासि सम्पर्कविहीन भएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए। सोही क्रममा बिहान करिब ८ बजे जितपुर क्षेत्रमा बाघ देखिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

प्रहरी, नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासन तथा स्थानीय जनप्रतिनिधिको समन्वयमा हात्ती प्रयोग गरी बोटेको खोजी गरिएको थियो। खोजीका क्रममा मंगलबार अपराह्न ४ बजेर २० मिनेटमा घटनास्थलबाट करिब ४–५ किलोमिटर पूर्वतर्फ रहेको राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको अवस्थामा बोटेको शव फेला परेको हो।

फेला परेको शव बोटेको भएको उनका छोराले सनाखत गरेका छन्। घटनापछि उक्त क्षेत्रमा बाघको गतिविधि र घटनाको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया