चालकको सावधानीले त्रिशूलीमा खस्नबाट जोगियो बस, सुरक्षित रहे ४३ यात्रु
बिहीबार दिउँसो ३ः३० बजे बागमती प्रदेश ०३–००१ ख ४८७१ नम्बरको प्राइम बस काठमाडौँको कंलकीबाट काँकडभिट्टाका लागि छुट्यो। नागढुंगा हुँदै चितवनतर्फ लागेको बस साँझ ७ बजेतिर मुग्लिन आइपुग्यो। मुग्लिन आइपुग्दा अँधेरो भैसकेको थियो। सिमसिम पानी र असिनाले सडकमा विपरित दिशाबाट आएका सवारी देख्न मुस्किल थियो।
चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित तुइनखोलाको पहिरोबाट स–साना ढुंगा झरिरहेको थियो। ढुंगा झरेको र पानी परिरहेका कारण सवारीको चाप पनि उत्तिकै। जाममा परेको उक्त प्राइम बस साँझ ८ बजे तुइनखोलामा आइपुग्यो। त्यति नै बेला माथिबाट खसेको करिब १० किलो जति तौल भएको ढुंगा चालक अगाडिको सिसामा बजारियो। सिसा फुटाएर ढुंगा बसभित्रै पस्यो।
चालकनजिकै क्याबिनमा रहेका ३९ वर्षका रामनाथ विक अत्तालिएर कराए। आँखा चिम्म गरेर राम राम.. भन्दै कराइरहेका उनलाई लागेको थियो, अब म नारायणगढ पुग्न नपाउने भएँ। फुटेको सिसाले उनको देब्रे आँखामा लाग्यो। हातभरी रगत लत्पतियो। उनले सोचे ‘अब, बस त्रिशूलीमा खस्यो। हामी सबै मर्ने भयौँ।’ तर, उनले आँखा खोल्दा सबै सुरक्षित थिए।
‘चालकलाई पूजा गर्नुपर्छ। झमझम पानी परिरहेको थियो। एक्कासी ढुंगा आएर लाग्दा अत्तालिएर हात छोडेको भए कोही बाँच्दैन थियौँ, घटनाको जानकारी गराउँदै उनले भने, ‘बस छेउतिर गैसकेको थियो। क्याविनमा बस्ने म र अरु प्यासेन्जरहरूले बस झर्न लाग्यो। भित्तामा मोड्नुस् भन्यौँ। चालक जान्ने हुनुहुँदो रैछ। झ्याप्पै ब्रेक लगाउनु भयो। ठूलो दुर्घटनाबाट जोगियौँ।’
रामनाथ काठमाडौँबाट टिकट नकाटी नारायणगढ झर्नेगरी भाडा तिरेर आएका थिए। चितवनको भरतपुर महानगरपालिका–८ गौरीगञ्ज घर भएका उनी सवारी दुर्घटना हुनु सबै चालकको मात्रै गल्ती नहुने बताउँछन्। ‘कतिपय दुर्घटना चालककै कारण पनि हुन्छन्, नहुने भन्ने हुँदैन,’ उनले थपे, ‘तर कति चालक असल परेका कारण यस्ता दुर्घटना रोक्न पनि चालकको हात हुने रैछ।’
त्यसोत, एक्कासी बसको सिसामा ढुंगा झरेपछि आफूले हत्तपत्त ब्रेक लगाउन भ्याएको बसका चालक श्याम जोशी बताउँछन्। नयाँ प्रविधिको ब्रेकका कारण मात्रै यात्रु र आफ्नो ज्यान जोगाउन भ्याएको उनको भनाइ छ।
‘हाम्रो बसभन्दा पछाडि गाडिको लाइन थियो, अगाडि ट्रकहरूको जाम थियो,’ उनले भने, ‘ठूलो पानी परेको कारण ढुंगा झर्न लागेको थाहा पाएनौँ। सिसामा बज्रिएपछि मात्रै थाहा पायौँ। स्टेरिङ र क्याविनको सिट भन्दा ठिक बीच भागको सिसामा लागेको कारण ढुंगाकै कारण कोही घाइते भएनौँ। तर सबै अत्तालिएका थियौँ। त्यहीबेला ब्रेक लगाउने ध्यान आयो।’
इमरजेन्सी ब्रेकका कारण केही यात्रुहरू सामान्य घाइते भए। क्याविन बाहेक अन्य सिटमा बस्ने यात्रुहरूले जब, ब्रेक लगाउनुको कारण थाहा पाए, तब सबैले मुटु छामेको चालक जोशी बताउँछन्। आफू सहित ४३ जना सवार बसको ब्रेक लगाउन नभ्याएको भए बस त्रिशूलीमा खस्ने उनी बताउँछन्। सिसाले लागेर घाइते भएका रामनाथ पनि सामान्य उपचारपछि डिस्चार्ज भैसकेका छन्।
यता, चालकको होसियारी र बसमा जडान गरिएको प्रविधिका कारण ठूलो दुर्घटना टरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला बताउँछन्। उक्त बसमा जीपीएस र सीसीटीभी जडान गरिएको थियो। बस दुर्घटनामा पर्न लागेको दृश्य बसमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको छ।
अधिकांश बस दुर्घटनाको दोष चालकहरूलाई नै देखाउने गरेको अवस्थामा सबै रात्री बसहरूमा सीसीटीभी र जीपीएस सिस्टम जडान गर्न आवश्यक देखिएको सिटौला बताउँछन्।
‘दुर्घटना भयो कि चालककै लापरबाहीले हो भन्ने गरिन्छ,’ उनले नेपालखबरसँग भने, ‘दुर्घटना हुनुको गल्ती सबै चालकको मात्रै हुँदैन। हिजो त्यो दुर्घटना पनि सीसीटीभीमा रेकर्ड थिएन र ठूलो दुर्घटना भएको थियो भने उस्तै आरोप लाग्थ्यो। तर प्रविधिको प्रयोगले प्रमाण देखाएको छ। अब कार्यविधि नै बनाएर सबै सवारीमा यो प्रविधि प्रयोग गर्नुपर्छ।’
चालकले बहादुरीपूर्वक गाडी र यात्रु बचाउन सफल भएको उनको भनाइ छ। ‘थोरै पनि दायाँबायाँ भएको भए बस त्रिशूली नदीमा जान्थ्यो,’ उनले भने, ‘चालकले यो घटनामा बहादुरी देखाएका छन्। उहाँको प्रशंसा यात्रुहरूले पनि गरिरहनु भएको अवस्था छ।’
जीपीएस सिस्टम अनिवार्य गर्ने पक्षमा सबै यातायात व्यवसायी रहेको भन्दै उनले सरकारले यसको कार्यविधि अविलम्ब बनाउनुपर्ने समेत बताए। त्यसले घटनामा को दोषी भन्ने समेत स्पष्ट हुने उनको भनाइ छ। बसमा प्रविधि जडान हुँदा यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने सिटौलाको दाबी छ।



