एमाले बागमती प्रदेश कमिटीका सबै पदाधिकारी केन्द्रीय सदस्यको दौडमा
नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबार (आज) बाट सुरु भएको छ । महाधिवेशनको सुरु भएसँगै पार्टीको केन्द्रीय कमिटीमा अटाउन बागमती प्रदेश कमिटीका नेताहरूको दौडधुप बढेको छ ।
प्रदेश कमिटीका अध्यक्षदेखि सचिवालय सदस्यहरूसम्मले केन्द्रीय कमिटीमा आकांक्षा देखाइरहेका छन् । ११ औँ महाधिवेशनबाट केन्द्रीय तहमा डेब्यु गर्ने लक्ष्यसहित एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलदेखि सचिवालय सदस्यहरू समेत लबिइङमा छन् । अध्यक्ष ढुंगेल, उपाध्यक्ष दावा दोर्जे लामा, सचिव नवराज सिलवाल तथा उपसचिवद्वय प्रेमबहादुर महर्जन र भक्तकुमारी लामा केन्द्रीय कमिटीको दौडमा छन् ।
२०८० असोज ८ र ९ गते काठमाडौँमा सम्पन्न बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको पदाधिकारी बनेका नेताहरू अब केन्द्रीय कमिटी सदस्यमा चुनाव लड्ने तयारीमा जुटेका हुन् । केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकट प्रदेश अध्यक्ष ढुंगेल केन्द्रीय कमिटीमा अटाउने दौडधुपमा छन् । रामेछापका उनलाई जिल्ला कमिटीले पनि केन्द्रीय सदस्य बनाउने रणनीतिमा जुटेको छ । एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले ढुंगेललाई केन्द्रीय सदस्य बनाउन सिंगो जिल्ला कमिटी नै लागिपरेको बताए ।
प्रदेश कमिटीका सदस्य आनन्दकुमार श्रेष्ठ समेत केन्द्रीय सदस्यकै दौडमा छन् । यी दुई नेतालाई रापेछापले प्राथमिकतामा राखेको अध्यक्ष कडरिया बताउँछन् । मकवानपुरका कृष्णप्रसाद दाहाललाई २५७ मतान्तरले पराजित गर्दै ढुंगेल बागमती प्रदेश कमिटीको अध्यक्षमा विजयी भएका थिए ।
यता, उपाध्यक्ष दावा दोर्जे लामा पनि केन्द्रीय कमिटीमा आफ्नो आवश्यकता देखिए चुनाव लड्न तयार रहेको बताउँछन् । हालसम्म व्यक्तिगत तयारी केही नभए पनि महाधिवेशनको माहोलले आफ्नो गन्तव्य निर्धारण गर्ने लामाको भनाइ छ ।
‘नेकपा एमालेमा काम गर्दै आएको ४०/४५ वर्ष भएछ, यो अवधिभर यो चाहियो, त्यो चाहियो भनेर कहिल्यै नेतृत्वसँग बार्गेनिङ गरिएन,’ लामाले भने, ‘११ औँ महाधिवेशनमा पनि यो पद त्यो पद भनेर मागेको छैन । तर पार्टीको आवश्यकताले माग्यो भने मेरो उम्मेदवारी रहन्छ ।’ यो बेला आफू के बन्ने भन्दा पनि ओलीलाई अध्यक्षमा जिताउने प्रक्रियामा आफ्नो ध्यान केन्द्रित भैरहेको उनले बताए । ‘पार्टीमा लागेपछि भर्याङ चढ्न मन नलाग्ने कस्लाई हुन्छ र ?’, उनले थपे, ‘यो भन्दैमा पार्टीलाई नै अप्ठेरो पर्ने निर्णय गर्दिनँ । तर माहोलले माग्यो भने म उम्मेदवार बन्छु ।’
बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा उपाध्यक्ष पदका लागि ४ जनाबीच भएको निर्वाचनमा दोब्बरभन्दा बढी मत ल्याएर लामा निर्वाचित बनेका थिए । ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथला, नारायण प्रसाद खतिवडा र लामाबीच भएको निर्वाचनमा उनले ६१५ मत ल्याएर विजयी हुँदा अन्य उम्मेदवारको मत ३ सय पनि पुग्न सकेको थिएन ।
प्रदेश कमिटीकै सचिव नवराज सिलवाल त केही दिनअघि देखि नै खुलेरै केन्द्रीय सदस्य पदको दौडमा लागेका छन् । ओली निकट सिलवाल जसरी पनि केन्द्रीय सदस्य बन्ने आकंक्षा व्यक्त गर्दै आएका छन् । महाधिवेशन प्रतिनिधिलाई आफूप्रति आकर्षित गर्ने रणनीतिमा सिलवाल मैदानमा उत्रिएका छन् । ओली निकट सिलवाल पनि ओली प्यानलबाटै केन्द्रीय सदस्यको प्रतिस्पर्धामा रहेको बताउँछन् ।
उपसचिव भक्तकुमारी लामा पनि केन्द्रीय सदस्यको तयारीमा रहेको बताउँछिन् । प्रदेश कमिटीमा रहेर काम गरेको क्षमता र अनुभवलाई अब केन्द्रीय कमिटीमा गएर निखार्ने तयारी रहेको उनको भनाइ छ । ‘अब सधैँ प्रदेशमा मात्रै बसेर पनि भएन,’ उनले भनिन्, ‘महाधिवेशन प्रतिनिधि बन्नु नै केन्द्रीय सदस्यको लागि योग्य भएको पार्टीले ठहर गर्नु हो । त्यसकारण केन्द्रीय सदस्य पदमा चुनाव लड्ने तयारी गरिहरेको छु ।’
अर्का उपसचिव प्रेमबहादुर महर्जन पनि केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारीमा छन् । ललितपुरका महर्जन केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेको बताउँछन् । ‘अहिले प्रदेश उपसचिव छु, ११ औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा जम्प गर्ने तयारी गर्दैछु,’ उनले भने, ‘तर बन्छु भनेर मात्रै त हुँदैन । पार्टीले अवसर दिए चुनावी मैदानमै उत्रिएर केन्द्रीय सदस्य बन्छु । त्यो भन्दा पहिला महाधिवेशन सफल बनाउनेमै मेरो ध्यान हुनेछ ।’
यी ५ पदाधिकारी बाहेक दर्जनबढी सदस्यहरू समेत केन्द्रीय सदस्य बन्ने दौडमा छन्। बागती प्रदेश कमिटीका सदस्य भरत केसी (दोलखा), एकालाल श्रेष्ठ (मकवानपुर), आनन्दकुमार श्रेष्ठ (रामेछाप), भगवती पुडासैनी (मकवानपुर) लगाएत पनि केन्द्रीय सदस्यको दौडमा छन् ।



