बागमतीका १४ उद्यमी सम्मानित, सेल्कर बने सर्वोत्कृष्ट

पालिका डायरी
१० मंसिर २०८२, ११:०७
बागमतीका १४ उद्यमी सम्मानित, सेल्कर बने सर्वोत्कृष्ट

उद्योग दिवसको अवसरलाई विशेष महत्व दिँदै बागमती प्रदेश सरकारले प्रदेशभर उद्यमशीलतामा उल्लेखनीय योगदान पुर्‍याइरहेका उद्यमीहरूलाई सम्मानित गरेको छ। ११औँ उद्योग दिवसका अवसरमा मंगलबार प्रदेशका उत्कृष्ट उद्यमीहरूलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो।

प्रदेश सरकारले १३ जनालाई उत्कृष्ट उद्यमी र एकजनालाई सर्वोत्कृष्ट उद्यमीको रुपमा सम्मान गरेको हो। प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले बागमतीका प्रत्येक जिल्लाबाट नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ मापदण्ड बमोजिम उच्च अंक प्राप्त गर्ने १३ जिल्लाका उत्कृष्ट एक/एक उद्यमी र प्रदेशबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने उद्यमीलाई सम्मान गरिएको जनाएको छ।

जसमा नुवाकोटको चिया कृषि फार्मका सञ्चालक शंकर तामाङ प्रदेशकै सर्वोत्कृष्ट उद्यमीको रुपमा सम्मानित भएका छन्। उनलाई नगद १ लाख रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ। बाँकी उत्कृष्ट उद्यमीहरुलाई जनही ४० हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरियो। नुवाकोटमा रहेको चिया कृषि फार्म मार्फत चिया, तरकारी, फलफूल लगाएतको खेति गर्दै आएका तामाङ प्रदेश सरकारको यो सम्मानले आफूमा अझ उर्जा थपेको बताउँछन्।

कार्यक्रममा काभ्रेको नमुना एग्रो प्रोडक्सकी दीक्षा पौडेल, दोलखाको ग्यालेक्सी मौरी फर्मका संचालक पोष्ट बहादुर दाहाल, भक्तपुरको चम्पक पाउँ उद्योगकी सञ्चालक देवका श्रेष्ठ, काठमाडौँको द हाईल्याण्ड आर्ट फेसन डिजाईन एण्ड ट्रेनिङका संचालक कल्पना लिम्बु, सिन्धुपाल्चोकको जौडाडा ढाका उद्योगका सञ्चालक रति थापा मगर, रसुवाको राजेश कृषि तथा पशुपन्छी फर्मका संचालक राजेश थिङ, ललितपुरको स्पेशल पुष्टकारी उद्योगका संचालक बद्ध महर्जन उत्कृष्ट उद्यमीको रुपमा सम्मानित भए।

यता नुवाकोटको नमुन्चेत कृषि फर्मकी संचालक कान्छिमाया तामाङ, मकवानपुको ज्योती दामन कृषि फर्मका संचालक ज्योती रायमाझी, रामेछापको हिमालयन ह्याण्डी क्राफ्ट एग्रो नेपाली कागज उद्योगकी संचालक संगिता शेर्पा, सिनधुलीको उज्यालो साबुन उद्योगका संचालकद्धय भोज कुमार खड्का र टीका प्रसाद चौलागाई, धादिङको पवित्रा कृषि तथा पशुपंक्षी फर्मकी संचालक प्रेमकुमारी वस्याल रोकाय र चितवनको अर्बान नेस्ट बुटिक एण्ड रेन्टल हाउसकी संचालक सुनिता घिमिरे उत्कृष्ट उद्यमीको रुपमा नगद सहित सम्मानित भए।

यसरी उद्यम गरिरहेका उद्यमीहरुलाई प्रदेश सरकारले सम्मान गरेपछि उनीहरूमा उत्साह थपिएको छ। आफ्ना नवप्रवर्तनशील प्रयास, जोखिमपूर्ण लगानी र निरन्तर मेहनतलाई प्रदेशले औपचारिक रूपमा कदर गरेको महसुस भएपछि आगामी दिनमा अझ प्रभावकारी रूपमा उद्यम विस्तार र नयाँ अवसर सिर्जना गर्न प्रेरित भएको उद्यमीहरूको भनाई छ।

उद्यमी छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विशेष समिति गठन गरी मूल्यांकनका आधारहरू तय गरेको बताएको छ। मन्त्रालयका अनुसार नवप्रवर्तनशील, प्रभावकारी तथा सम्भावनायुक्त उद्यमलाई पहिचान गरी प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू अघि सारिएका छन्।

उद्यमीलाई प्रविधि हस्तान्तरण, सीप विकास तालिम, व्यवसाय व्यवस्थापनका क्षमता अभिवृद्धि कार्यक्रम तथा आवश्यक परे परामर्श सेवासमेत उपलब्ध गराइने प्रदेशकी उद्योग मन्त्री बिन्दु श्रेष्ठले बताइन्।

प्रतिक्रिया