गाजर खेती बन्यो स्थानीयको भरपर्दो आयस्रोत (तस्बिरहरू)
मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतका सिंहबहादुर रानामगर दुई दशकअघि विदेश गए । तर मलेसियाको रोजगारीले सन्तोषजनक हुन सकेन । त्यसपछि उनी गाउँ फर्किए र बारीका पाटामा गाजर रोपे । चिसो हावापानी, कालो खुकुलो बलौटे माटो र चौबिसै घण्टा धाराको पानीले गाजर खेती मौलायो ।
तीन/चारवटा गाजर नै १ किलोको हुन थाल्यो । उनले गाजर खेती गर्न लागेको देखेपछि छरछिमेकीले पनि खेतबारीमा मकै, कोदो र फापर लगाउन छाडे । अर्थात् उनीहरू पनि गाजर खेतीतर्फ आकर्षित भए ।
हेटौंडा-भीमफेदी सडक हुँदै काठमाडौँ आउजाउ गर्नेहरूका लागि जुरिखेतका गाजर कोसेली हुन थाल्यो । सुरुसुरुमा सिंहबहादुरले गाजर सडकमै बसेर बेचे । यसैबीच उनलाई विदेशमा गाजरको जुस खाएको याद आयो । त्यस्तै स्वादको जुस बनाएर बेच्न सकियो भने आम्दानी बढाउन सकिएला भन्ने उनलाई लाग्यो ।
त्यसपछि उनले जुरिखेतमा गाजरको जुस पसल खोले । त्यतिबेला भीमफेदीको उकालो लागेपछि चिसापानीगढी नपुगुन्जेलका लागि भेटिने एउटै पसल थियो उनको । पहेँलो टलक्क परेको ताजा गाजर, गाजरको जुससहित खाजासमेत पाइने भएपछि यो सडक भएर यात्रा गर्नेहरू उनको पसलमा रोकिन थाले ।
त्यसयता उक्त सडक भएर यात्रा गर्ने यात्रुहरूलाई भीमफेदीको जुरिखेत भन्नेबित्तिकै मिठो गाजरको याद आउने गरेको छ । पछिल्लो समय जुरिखेतका अधिकांश घरपरिवारको आयस्रोत नै गाजर बनिरहेको छ । सोही स्थानका कृष्ण थापामगर जेसीभी अपरेटर हुन् । तर उनको हात आजकल मेसिनको स्टेरिङमा भन्दा कुटोकोदालोमा व्यस्त रहने गरेको छ ।

भदौ अन्तिम साता ३ रोपनी जग्गामा लगाएका गाजर उखेल्ने बेला हुनै लागेको छ । बारीका पाटाभरि लहलह भएका गाजर मंसिर पहिलो सातादेखि उखेलेर सडकमा बेच्न राखिने उनले बताए । ‘गाजर रोप्दा धेरै फाइदा छ । एक त परिवार सबै मिलेर राम्रो आम्दानी गर्न सकिने, अर्कातिर फलाएर कहाँ बेच्नु भन्ने चिन्ता लिनै पर्दैन’, कृष्णले ३ रोपनीमा लगाइएको गाजरबारी देखाउँदै उनले भने, ‘यहाँबाट ३ लाख रुपैँया त मज्जाले उठ्छ । बीउ महँगो परे पनि उन्नत जातको किनेर लगाएका थियौँ । उखेलेर सडकमा राखेपछि नबिक्ने भन्ने कहिल्यै छैन।’
उनका अनुसार वर्षमा तीनपटकसम्म गाजर उत्पादन गर्न सकिन्छ । उनको परिवारले ७ रोपनी जग्गामा गाजर खेती गरिरहेको छ ।यसैबाट सजिलै घरखर्च चलिरहेको उनी सुनाउँछन्।
सोही स्थानकी ५५ वर्षीया राधिका मगरको परिवार पनि गाजर खेतीमै रमाइरहेको छ । उनको बारीमा गाजर गोडमेलका लागि छिमेकीहरूले सहयोग गरिरहेका छन् । यसैगरी गाजर रोप्ने, गोडमेल गर्ने, उखेल्नेदेखि बेच्नसम्मका काम हुने मगरले बताइन् ।
‘बारीमा गाजर रोप्छु, बेच्ने बेला भएपछि आफ्नै घुम्ती पसल छ त्यहीँ बेच्छु, उनले भनिन्, ‘पहिला मकै, कोदो रोप्दा तीन महिना पनि खान पुग्दैनथ्यो । अहिले यही पाटोमा तीनपटक गाजर रोप्छौँ । गाजर बारीमै रायोको साग र सेतो मुला पनि रोप्छौँ । त्यसको उत्पादन पनि राम्रो छ । एकदमै सजिलो भएको छ ।’ थोरै जमिनमा खेती गर्दा पनि मनग्य आम्दानी हुने र बजारको समस्या पनि नभएका भएका आफूहरू गाजर खेतीमा आकर्षित भएको स्थानीय बताउँछन्।

यहाँ उत्पादन भएको गाजर बिक्री गर्न किसानलाई कुनै चिन्ता हुँदैन । यसको मुख्य कारण हो- भीमफेदी हुँदै काठमाडौँ आवतजावत गर्ने यात्रुहरू । यहाँका किसानले पालैपालो सडक छेउमै पसल राखी आफ्नो उत्पादन उपभोक्तालाई बिक्री गर्ने गरेका छन् ।
बिचौलियाको झन्झट नहुने र प्रत्यक्ष आम्दानी हुने भएकाले स्थानीयलाई गाजर खेती मन परेको हो । जुरिखेत अहिले गाजर उत्पादनका लागि ‘पकेट क्षेत्र’का रूपमा परिचित छ । यहाँको गाजर मात्र होइन, यसबाट बनेका परिकार र विशेषगरी जुसका कारण यो ठाउँ प्रख्यात बन्दै गएको छ ।
गाजर खेतीलाई मुख्य आयस्रोत बनाएका यहाँका किसान उन्नत जातका बीउ, मल र औषधिको अभाव हुने गरेको गुनासो गर्छन् । भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ भने गाजर उत्पादन क्षेत्रका रूपमा विकास हुँदै गएको जुरिखेतका किसानका समस्या समाधान गर्न आफूहरू सहयोग गर्न तयार रहेको बताउँछन् ।
‘हालसम्म गाजर खेती गर्ने किसानका लागि सहयोग नगरिएको स्वीकार गर्दै उनले भने, ‘प्रत्येक महिना गाउँपालिकाको कृषि शाखाको बैठक बस्छ । अब बस्ने बैठकमा गाजर खेती प्रवर्धनका विषयमा छलफल गरेर सहयोग गर्नेछौँ ।’
पहाडी ढिस्कोमा फैलिएको हरियालीले जुरिखेत ‘गाजर गाउँ’का रूपमा चिनिन थालेको छ । यहाँका ४० भन्दा बढी घरपरिवारको मुख्य रोजगारी र आम्दानीको भरपर्दो स्रोत नै गाजर बनेको छ ।
जेठ र असारमा यहाँका गाजर काठमाडौँ, हेटौँडालगायतका स्थानमा बिक्रीका लागि पठाउने गरिएको छ भने अन्य समयमा हेटौँडा–भीमफेदी–काठमाडौँ रुटमा चल्ने सवारीसाधनका यात्रुले गाजर किन्ने गरेका छन् ।








