मानव सेवा आश्रम पुगेर मन्त्री थापाले भने, ‘जसको कोही छैन, त्यसका लागि प्रदेश सरकार छ।’

पालिका डायरी
१४ भाद्र २०८२, १५:०८

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शनिबार (आज) आफ्नो जन्मदिनको अवसरमा हेटौंडामा रहेकाे मानव सेवा आश्रमका आश्रितहरुलाई बिहानको खाना खुवाएका छन् भने थापाले समेत सँगै खाना खाएका छन् ।

अनाथ, असहाय र परिवार विहीनको सेवा गर्न पुगेका मन्त्री थापाले राज्य सबैको संरक्षक भएको बताएका छन् । ‘जसको कोही छैन, त्यसको लागि हामी छौँ, प्रदेश सरकार छ, बागमती प्रदेश सरकारले त्यसको लागि व्यवस्थापन गर्दै छ’, उनले भने ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्ष बजेट बनाउँदा आश्रममा आश्रितहरुको स्वास्थ्य बिमाको रकम सरकाले नै तिरिदिने व्यवस्था गरेको उनले जानकारी दिए । थापाले धर्म गर्न मन्दिरमा गइरहनु नपर्ने बताउँदै सबैभन्दा ठुलो धर्म मानव सेवा भएको बताए । ‘भगवानको मन्दिरमा गएर दर्शन गर्दैमा हामीलाई धर्म हुने होइन, मानवको सेवा गर्न सक्यो भने सबैभन्दा ठुलो र पुण्य काम यही हो’, उनले भने ।

मानव सेवा आश्रमले मानवीय काम गरेको भन्दै मन्त्री थापालेले प्रशंसा गरे साथै आश्रितहरूको खानपान, आवास, स्वास्थ्य, सरसफाइ जस्ता काम गरेर मानव सेवा आश्रमले ईश्वरीय काम गरेको समेत बताए । आश्रमलाई व्यवस्थित गर्नको लागि कम्तीमा सरकारको तर्फबाट खानाको व्यवस्थापनका लागि सेवा दिने प्रतिबद्धता गर्दै मन्त्रिपरिषद् बैठकले सो विषयमा निर्णय गर्ने उनले बताए ।

प्रतिक्रिया