कृष्णप्रसाद भट्टराईको उदाहरण दिँदै बर्खास्त मन्त्री महर्जनले भने: मुख्यमन्त्रीले पनि राजीनामा दिनू

पालिका डायरी
१० श्रावण २०८२, १२:२६

बागमती प्रदेशका बर्खास्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री बहादुरसिंह लामालाई पनि राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

शनिबार (आज) सामाजिक सञ्जालमार्फत महर्जनले कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको उदाहरण दिँदै मुख्यमन्त्री लामालाई नैतिकता देखाएर पदबाट बाहिरिन आग्रह गरेका हुन् ।

‘२०५६ सालको संसदीय निर्वाचनपछि कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री हुनुभएको ११ महिना पछि उहाँलाई कांग्रेसकै सांसदहरूले बहुमत सांसदसहित अविश्वास प्रस्ताव दर्ता भयो र किसुनजीले नैतिकताको आधारमा राजीनामा दिनुभयो’, उनले लेखेको छन्, ‘अब मुख्यमन्त्रीले पनि राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ।’

शुक्रबार राजीनामा दिएका महर्जनसहित प्रदेशका ४ मन्त्रीलाई मुख्यमन्त्री लामाले लगत्तै पदबाट बर्खास्त गरेका थिए ।  कांग्रेस बागमती संसदीय दलको नेता फेर्न माग गर्दै खेलकुद मन्त्री महर्जनसँगै सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले दिउँसो राजीनामा बुझाएका थिए ।

दलको नेताविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ४ मन्त्रीलाई मुख्यमन्त्री लामाले शुक्रबार साँझ मन्त्री पदबाट बर्खास्त गरिदिएका हुन् । बागमतीमा कांग्रेस संसदीय दलभित्र अन्तरद्वन्द्व सुरु भएको छ ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाएर पार्टीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई उनको स्थानमा ल्याउने खेल भइरहेको हो ।

प्रतिक्रिया