हेटौंडा–१२ मा आँखा शिविर सम्पन्न, २९० जनाले लिए सेवा

पालिका डायरी
२१ जेष्ठ २०८२, २२:१३

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा एकदिने आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम वडा नम्बर १२ स्थित हात्तीगौंडा सहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो।

शिविर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको थियो। हेटौंडा सामुदायिक आँखा अस्पतालका कार्यक्रम संयोजक शुसिल कुमार सिंहका अनुसार शिविरमा कुल २९० जनाले आँखाको परीक्षण गराएका थिए।

शिविरमा अस्पतालका ७ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिएको थियो। टोलीमा वर्षा रञ्जित, निलिमा थापा, निल रोकाया, तुत्सि सिंह, दिनेश रुम्बा, र बुद्धरत्न गोपालीको सक्रिय सहभागिता रहेको थियो।

परीक्षणमा ४५ जना मधुमेह (सुगर) का बिरामी फेला परेका थिए। ती बिरामीहरूको आँखाको पर्दाको फोटो खिची उनीहरूलाई थप उपचारका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा रिफर गरिएको संयोजक सिंहले जानकारी दिनुभयो।

त्यस्तै, मोतिबिन्दु पहिचान गरिएका १२ जना बिरामीको जेठ २६ गते हेटौंडा सामुदायिक आँखा अस्पतालमै निःशुल्क शल्यक्रिया गरिने भएको छ। Cure Blindness Project ले उक्त अपरेसनका लागि सहकार्य गरेको सिंहले जानकारी दिए।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन तिवारीको प्रमुख आतिथ्यता रहेको थियो भने वडा सदस्य महेश भट्टराईको विशिष्ट आतिथ्यता रहेको थियो।

प्रतिक्रिया