१०५ किलो लागूऔषध गाँजासहित एक जना पक्राउ

पालिका डायरी
१६ जेष्ठ २०८२, १२:५०

हेटौंडा /  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा १०५ किलो ९०० ग्राम लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–१ निवासी ३२ वर्षीय अम्मर बहादुर तामाङ रहेका छन्।

हिजो (बिहिवार) ६:३० बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले नियमित सवारी चेकजाँचको क्रममा हेटौंडाबाट कलैयातर्फ जाँदै गरेको बा.प्र.०१–०३०च १०४६ नम्बरको पिकअप गाडीलाई रोकेर जाँच गर्दा उक्त गाँजा फेला परेको हो।

प्रहरीका अनुसार गाडीभित्र विशेष रूपमा लुकाइछिपाई राखिएको अवस्थामा ९ वटा पोका गाँजा भेटिएको थियो, जसको तौल १०५ किलो ९०० ग्राम रहेको छ।

गाँजा र प्रयोग गरिएको पिकअप गाडी बरामद गरिएको छ भने चालक अम्मर बहादुर तामाङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया