बागमतीमा इ–ब्लु बुक प्रणालीको शुभारम्भ

पालिका डायरी
१९ बैशाख २०८२, १९:५५
बागमतीमा इ–ब्लु बुक प्रणालीको शुभारम्भ

बागमती प्रदेशमा सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नागरिक एपमै आवद्ध गर्ने कार्यको शुभारम्भ गरिएको छ । शुक्रकार काठमाडौँमा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा नागरिक एपमा इ–ब्लु बुकको शुरुवात गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले इ–ब्लु बुकको उद्घाटन गरेका हुन् । इ–ब्लु बुक प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक डिजिटल युगमा रहेको प्रमाणित गर्ने कामको सुरुवात बागमती प्रदेशको यातायात मन्त्रालयले गरेको बताए । उनले नेपाल प्रविधिमा फड्को मार्ने युगमा रहेको उल्लेख गर्दै बागमती प्रदेश सरकारले गरेको नवीनतम कार्यको अन्य प्रदेशहरुले पनि सिको गर्नुपर्ने बताए ।

यस्तै, बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नेपाल सरकारसँगको समन्वय र सहकार्यमा सेवाहरुको डिजिटलाइजेसन सँगै डिजिटल गभर्नेन्समा जोड दिएको प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बताए। नेपाल सरकारसँगको समन्वयमा प्रदेशले यस अघि नै नागरिक एपमा लाइसेन्सलाई आबद्धता गराउने कार्यको शुरुवात गरेको मन्त्री महर्जनको भनाइ छ ।

‘नागरिक एपमा देखिने उक्त क्यूआर कोड सहितको सवारी चालक अनुमतिपत्रलाई ट्राफिक प्रहरीले मान्यता दिइसकेको छ,’ मन्त्री महर्जनले भने, ‘सोको नियमन सहजताको लागि ट्राफिक प्रहरीलाई ५१२ थान मोवाइल हस्तान्तरण गरी डिजिटल लाइसेन्सलाई आधिकारिकता प्रदान गर्ने र नियमन गर्ने व्यवस्था मिलाइएको छ ।’

प्रदेश सरकार आफैले लाइसेन्स प्रिन्ट गर्ने गरी खरिद प्रक्रिया अगाडी बढाएको उनले बताए । सो प्रक्रिया अन्तिम चरणमा रहेकोले छिट्टै नै प्रदेशस्तरबाट नै क्युआर कोड सहितको लाइसेन्स छपाई र वितरण कार्यको शुभारम्भ गरिने उनको भनाइ छ । सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गराई छुट्टै बायोमेट्रिक्स लिन नपर्ने गरी बागमती प्रदेश सरकारले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली अर्थात् बागमती इडीएल प्रणालीको विकास गरेको मन्त्री महर्जनले बताए ।

‘ब्लूबूक नविकरण, सवारी साधन कर तथा पटके सेवा अनलाइनबाटै लिन सकिने गरी टीआईएमएस प्रणाली व्यवस्था भएकोमा सोलाई थप प्रभावकारी रुपमा कार्यान्वनमा ल्याउन र सबै सिस्टमलाई इन्ट्रिगेसन गरी व्यवस्थित बनाउन मन्त्रालयबाट आवश्यक कार्य भइरहेको छ,’ मन्त्री महर्जनले भने ।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा भएको शुभारम्भ कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जन लगाएतको उपस्थिती रहेको थियो । श्रम रोजगार तथा यातायात मन्त्री महर्जनको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया