सुमेरुको फाइल हटाइदिने अडिओ बाहिरिएपछि मन्त्रीका स्वकीय मृत भेटिए

पालिका डायरी
१३ फाल्गुन २०८१, १७:४७

हेटौंडा । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठको स्वकीय सचिव रवी थापाले आत्माहत्या गरेका छन्। सोमबार (हिजो) गहुँमा राख्ने बिषादी ट्याब्लेट सेवन गरेर आत्माहत्या गरेका हुन् । धादिङको धुनिवेशी नगरपालिका–९ घर भएका थापा केही महिना अघि मात्रै मन्त्री श्रेष्ठको स्वकीयमा नियुक्त भएका थिए ।
प्रदेशको सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको बिषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्माहत्या गरेको खुलेको छ ।

थापा र अर्का कांग्रेस धादिङका नेता राजु बर्तौला मिलेर समयाग्रस्त सहकारी घोषणा भएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाटै हटाइदिने भन्दै पैसामा बार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको थियो । सो पश्चात् सहकारी मन्त्रीको निर्देशनमा अडियो रेकर्डमा नाम जोडिएका राजु बर्तौलालाई सोमबार (हिजो) बिहानै प्रहरीमा उजुरी दिएर पक्राउ गर्न लगाएका थिए ।
बर्तौला पक्राउ परेपछि सँगै फोनवार्ता गरेका थापाले १ पानाको सु–साइट नोट लेखेर बिष सेवन गरेका पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) अपिल राज बोहोराले जानकारी दिए । उनका अनुसार सोमबार दिउँसो २ बजे कालिमाटीमा रहेको साथीको कोठामा बिष सेवन गरेको अवस्थामा फेला परेका थापाको साँझ ६ः३० तिर उपचारको क्रममा शहिद मेमोरियल अस्पताल, कलंकीमा मृत्यु भएको हो ।

सामाजिक सञ्जालमा भेटिएको उक्त अडियो रेकर्डमा सुमेरु सहकारीका पूर्व सचिव बिनोद आचार्य, कांग्रेस नेता राजु बर्तौला र मन्त्रीका स्वकीय थापाबीच कुराकानी भएको प्रहरीले जनाएको छ ।
यता, सहकारी मन्त्री श्रेष्ठका अनुसार थापा उक्त दिन बिदामा थिए। छोरीको जन्मदिनका लागि धादिङ (घर) गएको उनी बताउँछन् । ‘म त त्यो दिन हेटौंडा नै थिएँ,’ मन्त्री श्रेष्ठले भने, ‘एउटा मिडियाले भ्वाइस रेकर्ड सहितको समाचार प्रकाशन गरेको रहेछ । सो अडियोका उसको (रवि) को पनि आवाज रैछ। मैले मन्त्रालयको बिषयमा नकारात्मक कुरा फैलाएको भन्दै राजु बर्तौलालाई प्रहरीको निगरानीमा लिन भनेँ । त्यसैमा उसको पनि संलग्नता रहेछ। डरले बिष सेवन गरिदियो ।’

कोठामा उनले लेखेको सु–साइट नोटमा मन्त्री श्रेष्ठलाई ‘सरी दाई’ भन्दै आफूले गल्ति नगरेपनि फसाउन खोजेको कारण आत्माहत्या गरेको भन्ने उल्लेख गरेको मन्त्री श्रेष्ठले बताए । ‘हाम्रो मन्त्रालय, मन्त्री र सचिवालयले राम्रो काम गरेको भएर फसाउनका लागि यो सबै गरेका हुन्, सु–साइट नोटमा लेखिएको शब्द उल्लेख गर्दै श्रेष्ठले भने, ‘हाम्रो कुरा त भएको थियो दाई ! तर यस्तो बार्गेनिङ गरेर चाहिँ भएको थिएन । फरक बिषयमा भएको कुराको नराम्रो बनाउनको लागि अडियो सम्पादन गरेको हो ।’

प्रतिक्रिया