संविधान दिवसको अवसरमा हेटौंडामा वृक्षरोपण

पालिका डायरी
२ आश्विन २०८३, १०:०१

हेटौंडा / संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा हेटौंडामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। बागमती प्रदेश कृषि, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको समन्वयमा शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण कार्यक्रम गरिएको हो।

कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र वृक्षरोपणको महत्वबारे जोड दिइएको थियो। संविधान दिवसलाई वातावरण संरक्षणसँग जोड्दै सार्वजनिक स्थलमा वृक्षरोपण गर्ने कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता बागमती प्रदेश सरकारका प्रमुख सचिव कमलप्रसाद भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलको उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी,  जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मन्त्रालयका सचिवहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा-४ का वडा अध्यक्ष नवीन सिग्देल,  प्रदेश सरकारका कर्मचारी, सुरक्षाकर्मी तथा भुटनदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित उक्त वृक्षरोपण कार्यक्रमले वातावरण संरक्षणसँगै सार्वजनिक स्थललाई हरियाली र स्वच्छ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया