हेटौंडा / हेटौंडामा सञ्चालनमा रहेको अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार (आज) अपराह्न करिब ४ बजे हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल स्थित जगत बहादुर घिसिङको जस्ताले बनेको घरमा सञ्चालन भइरहेको मदिरा भट्टिमा छापा मारेको हो।
विशेष सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा प्रहरीले करिब ४ हजार लिटर तयारी अवस्थामा रहेको घरेलु मदिरा तथा ५ हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको जनाएको छ। यससँगै ८ वटा ग्यास सिलिन्डर, २ वटा भट्टे चुलो, २ बोरा चामल तथा प्लास्टिकका ड्रम र बोतलहरू समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले मदिरा भट्टि सञ्चालक अन्दाजी ६० वर्षीय जगत बहादुर घिसिङसहित त्यहाँ कार्यरत ३ जना कामदारलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा कालिका नगरपालिका–७, चितवन बस्ने २३ वर्षीय सुजन तामाङ, कोल्बि नगरपालिका–८, बारा बस्ने १९ वर्षीय अजय लामा तथा कालिका नगरपालिका–९, चितवन बस्ने ३४ वर्षीय सुरेश प्रजा रहेका छन्।
प्रहरीका अनुसार उक्त स्थानमा अवैध रूपमा ठूलो मात्रामा घरेलु मदिरा उत्पादन भइरहेको पाइएको छ।