स्थानीय संरचना, सामूहिक निर्णय र समावेशिताको पक्षमा अध्यक्ष मुक्तान

पालिका डायरी
२५ चैत्र २०८२, १६:४१
लोकतान्त्रिक तामाङ संघ केन्द्रिय कार्यसमितिको उपमहासचीवमा सुनिल मुक्तान निर्वाचित

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानले स्थानीय तहको प्रभावकारी सञ्चालनका लागि वडा संरचना, सामूहिक निर्णय प्रणाली र समावेशी प्रतिनिधित्वको महत्त्व रहेको बताएका छन्।

हाल सरकारले स्थानीय तहमा एउटा मात्र वडा अध्यक्ष रहने व्यवस्था गर्नुपर्ने बहस भइरहेका बेला उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपालको संविधान २०७२ अनुसार बनेको स्थानीय संरचनालाई कमजोर पार्ने कुनै पनि अभ्यास व्यवहारिक र कानुनी दुवै दृष्टिले उपयुक्त नहुने स्पष्ट पारेका छन्।

“वडा अध्यक्ष एक्लैले होइन, वडा समितिले काम गर्छ,” उनले भनेका छन्। अध्यक्ष मोक्तानका अनुसार वडा अध्यक्षले नेतृत्व गरे पनि वडा भनेको सामूहिक निर्णय गर्ने निकाय हो। वडा सदस्यहरूको सहभागिता अनिवार्य हुँदा मात्र निर्णय प्रक्रिया पारदर्शी, जवाफदेही र प्रभावकारी बन्छ। सबै अधिकार एकै व्यक्तिमा केन्द्रित गर्दा पारदर्शिता र सेवा प्रवाह दुवै कमजोर हुने उनको भनाइ छ।

अध्यक्ष अनुपस्थित हुँदा पनि काम निरन्तर हुने व्यवस्था वडा संरचनाको मूल उद्देश्य रहेको उनले उल्लेख गरेका छन्। उनका अनुसार अध्यक्ष अनुपस्थित भए पनि वडा सदस्यहरूले काम अघि बढाउन सक्ने भएकाले सेवा प्रवाह अवरुद्ध हुँदैन। यसले स्थानीय सरकारलाई स्थिर र विश्वसनीय बनाउँछ।

वडा सदस्यहरू जनताको पहुँच र आवाज बोकेको प्रतिनिधि भएको उल्लेख गर्दै मोक्तानले उनीहरूको भूमिकालाई निर्णायक बताएका छन्। सदस्यहरूले निर्णय प्रक्रियालाई समावेशी, पारदर्शी र पहुँचयोग्य बनाउने हुँदा उनीहरूलाई हटाउने सोचले स्थानीय लोकतन्त्र कमजोर पार्ने उनको भनाइ छ। यसो गर्दा जनताको पहुँच घट्ने, कामको भार एकै व्यक्तिमा केन्द्रित हुने र लोकतान्त्रिक अभ्यास संकुचित हुने जोखिम रहने उनले औंल्याएका छन्।

“समावेशी प्रतिनिधित्व आवश्यकता हो, कृपा होइन,” उनले बताएका छन्। वडास्तरमै दलित, महिला तथा विभिन्न समुदायको अनिवार्य प्रतिनिधित्व नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको स्मरण गराउँदै उनले यसलाई कृपा नभई आवश्यकता को आधारमा बुझ्न आग्रह गरेका छन्।

समावेशी प्रतिनिधित्व स्थायी नभई सामाजिक अवस्था सुधार नहुँदासम्मका लागि आवश्यक रहेको उनले स्पष्ट पारेका छन्। जब सबै समुदाय शिक्षा, स्वास्थ्य, राजनीतिक र आर्थिक अवसरमा समान पहुँचमा पुग्छन्, तब मात्र सभ्य समाजको सुरुवात हुने उनको भनाइ छ।

“सिंहदरबार गाउँमै” भन्ने भावनालाई व्यवहारमा उतार्न वडा अध्यक्षसहित सबै वडा सदस्यहरूको सक्रिय सहभागिता, सामूहिक निर्णय, पारदर्शिता र जवाफदेहिता कायम राख्नुपर्नेमा उनले जोड दिएका छन्। स्थानीय सरकार बलियो बनाउन यही मार्ग उपयुक्त रहेको उनको दाबी छ।

प्रतिक्रिया