हेटौंडामा आपराधिक गतिविधिमा सक्रिय १८ जना नियन्त्रणमा

पालिका डायरी
२२ चैत्र २०८२, २१:१५
बागमती प्रदेशमा प्रहरीको थुनुवा कक्ष खचाखच

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर ले सञ्चालन गरेको “अपरेशन ड्रप” अभियान अन्तर्गत १८ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अनावश्यक रूपमा हिँडडुल गर्ने, गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने, गुण्डागर्दी तथा आपराधिक गतिविधिमा सक्रिय रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार शनिबार (हिजो) र आइतबार (आज) दुई दिनसम्म सञ्चालन गरिएको अभियानका क्रममा हेटौंडा उपमहानगरपालिका तथा आसपासका विभिन्न स्थानबाट १८ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकामध्ये अधिकांश युवाहरू रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम समेत सार्वजनिक गरेको छ। नियन्त्रणमा पर्नेहरूमा २२ वर्षका नशिव बर्तौला, ३३ वर्षका फराक अन्सारी, ४८ वर्षका बद्री बहादुर तामाङ, ३० वर्षका सुगम लोप्चन, ३२ वर्षका कमल सिंह भ्लोन, २८ वर्षका अजय स्याङ्तान, ३२ वर्षका अरुण स्याङ्तान, ३२ वर्षका सविन थिङ, ३६ वर्षका अर्जुन भ्लोन तामाङ रहेका छन्।

यस्तै, २९ वर्षका सुरज श्रेष्ठ, १९ वर्षका सुभम थिङ, २५ वर्षका नवराज गुरुङ, ३२ वर्षका सन्त कुमार महर्जन, २७ वर्षका दिपेश लामा, २१ वर्षका राजेश ओझा, १९ वर्षका राहुल तामाङ, २१ वर्षका नवीन गौतम र २८ वर्षका रवि तिमिल्सिना रहेका छन्।
पक्राउ परेकाहरुमध्ये रवि तिमल्सिना रौतहटको फतुवा विजयपुर नगरपालिका–१० का हुन् भने बाँकी सबै हेटौंडाको विभिन्न वडाका बासिन्दा हुन्।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। समाजमा शान्ति सुरक्षा कायम राख्न र आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले स्पष्ट पारेको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले नागरिकलाई कानुन विपरीतका गतिविधिमा संलग्न नहुन तथा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन्।

अनावश्यक हिँडडुल, गैर–व्यवसायिक गतिविधि तथा आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया