ओली र लेखकको प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा

पालिका डायरी
२२ चैत्र २०८२, १८:०१

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा राखिएको छ।

आइतबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो। सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

जेनजी आन्दोलनका घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाही सिफारिस गरेपछि प्रहरीले एकसातादेखि हिरासतमा राखेको छ। चैत १४ बिहानै प्रहरीले पक्राउ गरेको हो।

पक्राउ गैरकानुनी भएको दाबी गर्दै ओलीको तर्फबाट राधिका शाक्य र लेखकको तर्फबाट उनकी पत्नी यशोधा थापाले रिहाइ माग गरी यही चैत १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए।

चैत १६ गते सर्वोच्चले विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो। जसअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले सुनुवाइ अगाडि बढेको हो। यता प्रहरीले भने अझै हिरासतमा राख्न माग गर्दै म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पुगेको छ। जिल्ला अदालतको आदेश आउन बाँकी छ।

प्रतिक्रिया