एमाले मकवानपुरद्वारा ओलीको पक्राउप्रति आपत्ति, अविलम्ब रिहाइको माग

पालिका डायरी
१४ चैत्र २०८२, १२:४६
घर जले पनि सत्कर्म कहिले छोडिन्न : उपाध्यक्ष लामा

हेटौंडा /  नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति घोर निन्दा तथा भर्त्सना गरेका छन्।

विज्ञप्तिमा भनिएको छ कि गत भदौ २३ र २४ गते भएको जेञ्जी आन्दोलनका घटनाहरूको छानबिन गर्न गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगबाट गरिएको गिरफ्तारीले मुलुकलाई अनावश्यक द्वन्द्वतर्फ धकेल्ने काम गरेको छ। कानुनी प्रक्रिया र संवैधानिक मर्मलाई बेवास्ता गर्दै पूर्जी जारी गरी गरिएको पक्राउले कानुनी राज्यको उपहास भएको पनि विज्ञप्तिमा उल्लेख छ।

कार्यवाहक अध्यक्ष लामाका अनुसार यस्तो कदम गैरसंवैधानिक, गैरराजनीतिक र प्रतिशोधपूर्ण रहेको स्पष्ट देखिन्छ। उनले लोकतान्त्रिक अभ्यास, विधिको शासन र राजनीतिक सहिष्णुतामाथि गम्भीर आघात पुगेको दाबी गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीले पार्टीका अध्यक्ष ओलिको अविलम्ब रिहा गर्न जोडदार माग गर्दै यस्ता कार्यले मुलुकको राजनीतिक वातावरणलाई थप अस्थिर बनाउने चेतावनी दिएको छ।

विज्ञप्तिको अन्त्यमा कार्यवाहक अध्यक्ष हिदम लामाले सरकारलाई कानुनी राज्य, लोकतान्त्रिक मूल्य र राजनीतिक मर्यादाको सम्मान गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया