मकवानपुरमा वन डढेलो नियन्त्रण प्रभावकारी, पूर्वतयारी र सचेतनाले घट्यो जोखिम

पालिका डायरी
१० चैत्र २०८२, १८:४७

हेटौंडा /  मकवानपुरमा “वन डढेलो व्यवस्थापन सप्ताह” अन्तर्गत पत्रकार सम्मेलन आयोजना गरी वन डढेलो नियन्त्रणका लागि गरिएका प्रयास र आगामी रणनीतिबारे जानकारी गराइएको छ। डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा यस वर्ष हालसम्म वन डढेलोका घटनाबाट ठूलो समस्या नदेखिएको जानकारी दिइएको छ।

डिभिजन वन कार्यालयका प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन डढेलो नियन्त्रणका लागि एक हप्तासम्म सञ्चालन गरिएको विशेष अभियानबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी वन अधिकृतहरूले विगतका वर्षहरूमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै यस वर्ष प्रारम्भिक चरणमै सचेतना र पूर्वतयारीका कामहरू प्रभावकारी रूपमा अगाडि बढाइएको बताए।

कार्यालयका अनुसार, “वन डढेलो व्यवस्थापन सप्ताह” अन्तर्गत जिल्लाका विभिन्न वन क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, जोखिम क्षेत्रको पहिचान, निगरानी संयन्त्रको सुदृढीकरण तथा स्थानीय समुदायसँग समन्वय बढाउने काम गरिएको छ। विशेषगरी सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्य गर्दै डढेलो लाग्न सक्ने सम्भावित क्षेत्रहरूमा सचेतना फैलाउने, सरसफाइ गर्ने तथा आगो नियन्त्रणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिइयो।

कार्यक्रममा वन अधिकृत हेम कुमार पाठकले आफ्नो प्रस्तुतीमार्फत वन डढेलो नियन्त्रणका लागि यसअघि गरिएका प्रयास र आगामी दिनमा अपनाइने रणनीतिबारे धारणा राखेका थिए। एक हप्ताभरी गरिएका काम र अब गर्ने कामका विषयमा प्रस्तुती मार्फत जानकारी दिइएको थियो ।

वन क्षेत्रमा डढेलो लाग्नुका प्रमुख कारण मानवीय लापरबाही, अव्यवस्थित घाँस दाउरा संकलन, जथाभावी आगो बाल्ने प्रवृत्ति र मौसमीय प्रभाव रहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न समुदायस्तरबाटै सजगता आवश्यक रहेको बताएका छन्। साथै, वन डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन समूह तथा सर्वसाधारणबीच सहकार्य अझै मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ।

डिभिजन वन कार्यालयले यस वर्ष हालसम्म विगतका वर्षहरूमा जस्तो ठूलो क्षति हुनेगरी वन डढेलोका घटना नदेखिएको दाबी गरेको छ। यसलाई प्रारम्भिक चरणदेखि नै गरिएको पूर्वतयारी, जनचेतना अभिवृद्धि र निगरानी प्रणालीको प्रभावका रूपमा लिइएको छ।

आगामी दिनमा तापक्रम बढ्दै जाने र सुख्खा मौसम लम्बिँदै जाने भएकाले डढेलोको जोखिम अझै उच्च रहने भन्दै कार्यालयले थप सतर्कता अपनाउने जनाएको छ। यसका लागि वन क्षेत्रमा नियमित गस्ती, अग्नि रेखा निर्माण, द्रुत उद्धार टोली तयारी तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइने पाठकले जानकारी दिए ।

कार्यक्रममार्फत सर्वसाधारणलाई वन क्षेत्रमा जथाभावी आगो नबाल्न, डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन र वन संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ। वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण सबैको साझा जिम्मेवारी भएको सहभागीहरूले जोड दिएका छन्। कार्यक्रममा भिभिजन वन अधिकृत बसन्तराज गौतम, विशाल भट्टराई, दिपक अधिकारी लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया