भीरबाट लडेर १० वर्षीया बालिकाको मृत्यु
गुराँस टिप्न डोको माग्न पठाएकी थिइन् आमाले मकवानपुरमा भीरबाट लडेर १० वर्षीया बालिकाको ज्यान गएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङकी लमिना वाइबाको मृत्यु भएको हो। सोमबार (हिजो) दिउँसो विद्यालयबाट घर फर्किएपछि लमिनाको आमा गंगामाया लोले लालिगुराँग टिप्न जान उनलाई घर भन्दा केही पर रहेको छिमेकीको घरमा डोको लिन पठाएकी थिइन्।
साँझसम्म पनि घर नर्फिएपछि राति १२÷१ बजेसम्म घर वरपर खोजी गरिएको थियो। तर रातमा उनी फेला परिनन्। लमिनालाई पढाउने शिक्षक सुनिता मोक्तान सहितको टोलीले मंगलबार (आज) बिहानै खोजी गर्नेक्रममा घर नजिकैको भीरबाट लडेर मृत्यु भैरहेको अवस्थामा फेला परेकी हुन्। इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जमका अनुसार हाल उनको शवको मुचुल्का उठाउने काम भैरहेको छ।
लमिना सोही वडामा रहेको रामचन्द्र भञ्याङ आधारभूत विद्यालयका कक्षा ३ मा अध्ययनरत थिइन्।



