त्रिभुवन माविको विव्यसमा दाहाल सर्वसम्मत चयन
हेटौंडा / त्रिभुवन माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जुना दाहाल सर्वसम्मत रूपमा चयन भएकी छन्। हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडास्थित माविको विव्यसको अध्यक्ष पदमा दाहाल चयन भएकी हुन्।
गोविन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा बसेको समिति बैठकले महिला मनोनितमा परेकी दाहाललाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको हो।
यसैगरी सदस्यहरूमा हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडाको तर्फबाट वडा सदस्य संजय बिडारी दोहोरिएका छन् भने पुरुष मनोनितमा परेका अर्का सदस्य जनकप्रसाद लामिछाने पनि दोहोरिएका हुन्।
यसैगरी सर्वसम्मत रूपमा चयन हुने सदस्यहरूमा अभिभावकको तर्फबाट गोविन्दप्रसाद न्यौपाने, बिनु नेपाली, बद्री लम्साल र जमुना राई रहेका छन्। सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला चयन भएका हुन्।
विद्यालय तर्फका सदस्य बाहेक कार्यसमिति पूरा भएको विद्यालयले जनाएको छ।
नवनियुक्त कार्यसमितिलाई बधाई दिँदै विद्यालयका सहायक प्रअ बैकुण्ठ नेपाल र शर्मिला ढकालले टीका लगाई खादा ओढाइदिएका थिए।
विद्यालयका प्रअ बर्तौलाले विद्यालय विकासमा समिति, विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारी सबैको बराबर जिम्मेवारी रहने भएकाले मिलेर काम गर्नुपर्ने बताए।
यसैगरी वडाध्यक्ष समेत रहेकी नवनिर्वाचित विव्यस अध्यक्ष दाहालले आफ्नो तर्फबाट सकेको काम गरेर विद्यालयको चौतर्फी विकासमा टेवा पुर्याउने बताइन्।



