हेटौंडा–१५ का वडाबासीको लागि निःशुल्क खानेपानी, एम्बुलेन्स र रगत
जनताको आधारभूत सेवा सुविधालाई प्राथमिकतामा राख्दै हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाले वडाबासीका लागि निशुल्क खानेपानी, एम्बुलेन्स तथा रगतको सुविधा उपलब्ध गराउन सुरु गरेको छ । यस वडाले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवाहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित यस्तो पहलको थालनी गरेपछि वडाबासीहरु खुसी देखिएका छन् ।
वडा कार्यालयले आफ्ना वडामा बसोबास गर्ने नागरिकहरू बिरामी भई जहाँ सुकै उपचार गर्न लगे पनि लाग्ने एम्बुलेन्स भाडा, उपचारका लागि आवश्यक रगत खरिद खर्च तथा मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेपछि स्थानीयवासी उत्साहित भएका छन् ।
हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाको यो निर्णयले विशेषगरी विपन्न तथा आकस्मिक अवस्थामा परेका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ । दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवामा राहत मिल्ने भएपछि खुसी लागेको भोर्ले टोल विकास समितिकी सचिव हरिमणी लामाले बताइन् ।
वडामा रहेका २१ वटा टोल विकास समिति मध्ये १९ वटा टोल विकास समितिमा यो कार्यक्रम हाललाई लागू गरिएको हो । टोल विकास समितिमार्फत रकम निकाशा गरेर विवरण गरिने कार्यालयले जनाएको छ । वडामा रहेका २ हजार ३०६ घरधुरीले निः शुल्क खानेपानी प्रयोग गर्न पाउने भएका हुन् । गत माघ महिनादेखि यो कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै यो कार्यक्रमलाई आगामी आर्थिक वर्षहरुमा समेत निरन्तरता दिइने वडाअध्यक्ष सुनिल मोक्तान बताउँछन् । हेटौंडा उपमहानगरपालिकाभित्रका १९ वडाहरुमध्ये १५ नम्बर वडाले पहिलो पटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यालयको दाबी छ ।




