आजबाट राष्ट्रिय महिला भलिबल प्रतियोगिता

पालिका डायरी
४ चैत्र २०८२, १२:१५
जिल्ला स्तरीय भलिवल, उद्घाटन खेलमा कैलाश र बज्रबाराही क्लबबीच हुने

हेटौंडाको टिसिएन चौरमा जारी खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत आज बुधबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ। महोत्सवमा समावेश ६ वटा खेल विधामध्ये यो प्रतियोगिता आजबाट सुरु हुन लागेको हो।

प्रतियोगितामा न्यू डाइमण्ड स्पोर्ट्स क्लब काठमाडौं, जिल्ला भलिबल संघ मकवानपुर, स्टेप भलिबल क्लब लुम्बिनी प्रदेश, केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा, ब्राइट फ्युचर स्पोर्ट्स क्लब कोशी प्रदेश र जनशक्ति युवा क्लब मधेश प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ।

आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेल मकवानपुर जिल्ला भलिबल संघ र स्टेप भलिबल क्लबबीच हुनेछ। राष्ट्रिय महिला भलिबल प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, सेमिफाइनलमा पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिएका छन्।

महोत्सवअन्तर्गत यसअघि जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता, महिला तथा पुरुष १० किलोमिटर दौड, र पुरुष भलिबल प्रतियोगिता सम्पन्न भइसकेका छन्। राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ। त्यसपछि ९ र १० गते जिल्लास्तरीय कराते प्रतियोगिता तथा चैत ११ देखि १३ गतेसम्म राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरिनेछ।

प्रतिक्रिया