जाँते–मानेडाँडा–चिप्लोटी सडक स्तरीकरणका लागि उपभोक्ता समिति गठन
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित प्रगतिटोल विकास संस्था अन्तर्गत जाँतेदेखि मानेडाँडा हुँदै चिप्लोटी जाने सडक स्तरीकरणका लागि उपभोक्ता समिति गठन गरिएको छ। प्रदेश सरकारको आर्थिक वर्ष ०८२/०८३ को बजेट अन्तर्गत उक्त सडक निर्माण तथा स्तरीकरणका लागि रु. २५ लाख बजेट विनियोजन गरिएको हो।
यस सम्बन्धमा आयोजित भेलामा वडा नं. १५ का अध्यक्ष सुनिल मोक्तानको प्रमुख उपस्थितिमा तथा टोल विकास संस्था अध्यक्ष कर्णबहादुर स्याङतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। भेलाले सर्वसम्मत रूपमा उपभोक्ता समिति गठन गर्दै निर्माण कार्यलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा स्थानीय बासिन्दा, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सडक स्तरीकरणले क्षेत्रको विकासमा टेवा पुग्ने, आवतजावत सहज हुने र स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।
नवनिर्मित उपभोक्ता समितिले छिट्टै निर्माण कार्य सुरु गरी गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, स्थानीय तह र प्रदेश सरकारको सहकार्यमा विकास निर्माणका कार्यलाई तीव्रता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।



