चौरजहारीका मेयर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रुकुम पश्चिमको चौरजहारीका मेयर पुष्प वादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार विशेष अदालत काठमाडौँमा मेयर वादीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए । उनीसँगै चौरजहारीका असिस्टेन्ट सबइन्जिनियर मोहन शाहलाई पनि प्रतिवादी बनाइएको छ ।
नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत शाहको आर्थिक वर्ष २०८१/८२ मा करार थप्न घुस लिएको मेयर वादीलाई आरोप लागेको छ । सबइन्जिनियर शाहले नै करार थप्नका लागि मेयर वादीलाई एक लाख रुपैयाँ घुस दिएको अख्तियारमा उजुरी हालेका थिए ।
आर्थिक वर्ष २०८१/८२ मा एक लाख घुस दिएर करार थपिएको र आर्थिक वर्ष २०८२/८३ मा एक लाख घुस दिन नसक्दा करार थप नगरी बर्खास्त गरेको भन्दै शाहले नै अख्तियारमा उजुरी हालेका थिए । त्यसमा छानबिन गर्दा घुस लिए र दिएको भेटिएकाले लिने र दिने दुवै जना विरुद्ध मुद्दा दर्ता गरिएको प्रवक्ता न्यौपानेले बताए ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा दुवै जनालाई कैद सजाय माग दाबी गरिएको छ । त्यस्तै, घुस लिए दिएको एक लाख रुपैयाँ जफत गर्न पनि माग गरिएको छ ।



