फेरि रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा
file photo
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट फेरि पनि ‘हेर्दाहेर्दै’मा परेको छ।
मंगलबार पनि सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास सुनुवाइ हुन थालेको तीन दिन भएको छ।
यसअघि सोमबार र आइतबार पनि यस रिटमा सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिँदै आएको थियो। अब भने अर्को सुनुवाइ बिहीबार हुनेछ। घोडेजात्रा पर्वका अवसरमा बुधबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा छ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लामिछाने विरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन्।
जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता (अभियोग संशोधन) को निवेदन अदालतमा पेस गरे पनि जिल्ला अदालतले सर्वोच्चमा रहेको यो मुद्दाको टुंगो नलागेसम्म कुनै निर्णय नगर्ने भएका छन्।
मुद्दा फिर्ता लिने निर्णय गरेपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। यी दुई कसुरमा मुद्दा फिर्ता भए पनि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा भने कायम रहनेछ।



