अबको प्रतिनिधिसभा: रास्वपा १८२ सिटसहित सबैभन्दा ठुलो दल, अन्यको के छ हाल ?
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत गणना सकिएसँगै राजनीतिक दलहरूको सिट संख्या निश्चित भएको छ। निर्वाचन आयोगले बिहीबार सामानुपातिक सिट बाँडफाँट गरेसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको आकार टुंगो लागेको हो।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष १२५ र समानुपातिक ५७ गरी १८२ सिटसहित सबैभन्दा ठुलो दल बनेको छ। दुई सिटको कमीले रास्वपाले दुईतिहाइ बहुमत पुर्याउन सकेन। २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ सिट हुनुपर्छ।
यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८ सिट प्राप्त गरेको छ भने नेकपा एमालेले प्रत्यक्ष ९ र समानुपातिक १६ गरी २५ सिट पाएको छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष ८ र समानुपातिक ९ गरी १७, श्रम संस्कृति पार्टीले प्रत्यक्ष ३ र समानुपातिक ४ गरी ७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष १ र समानुपातिक ४ गरी ५ सांसद बनाएका छन्।
यस्तै म्याग्दीबाट स्वतन्त्र रूपमा चुनाव लडेर जितेका महावीर पुनले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नेछन्। निर्वाचन आयोगले तोकिएको सिट संख्याका आधारमा ३ दिनभित्र समानुपातिक सांसदका लागि नाम छनोट गरी पेस गर्न दलहरूलाई बिहीबार नै पत्र पठाइसकेको छ।



