उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

पालिका डायरी
२८ फाल्गुन २०८२, १५:११
उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ ।

यही फागुन २१ गते भएको निर्वाचनमा तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका थिए ।  तामाङ १४ हजार ८०२ मतसहित विजयी हुँदा एमालेका अम्बर बहादुर रायामाझीले ७ हजार ६४८ मत ल्याएका थिए ।

त्यस्तै, नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुरेश कुमार राईले ५ हजार १९७ र श्रम संस्कृति पार्टीका वलराज राईले ४ हजार १३९ मत पाएका छन् ।

निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएको हो । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि चेक बाउन्स प्रकरणमा कालो सूचीमा परेको छ । केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालो सूचीको १०१,५१४ नम्बरमा छ ।

उक्त कम्पनीको सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई हुन् ।  कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी नै खारेज गरेको थियो ।

साहको उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट नेकपाका मातृका यादव निर्वाचित भइसकेको छन् ।  आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

सर्वोच्च अदालतले धनुषा १ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशनसमेत दिएको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । सो क्षेत्रमा रास्वपाका साहकै पक्षमा बढी मत आएको थियो। तर, उनको उम्मेदवारी खारेज भएकोले नेकपाका मातृका प्रसाद यादवलाई आयोगले प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतिक्रिया