फेसबुकमा चुनाव प्रचार : ९० दिनमा बाहिरियो डेढ करोड
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अभियानका क्रममा राजनीतिक दल र उमेदवारहरूले सामाजिक सञ्जाल, विशेष गरी फेसबुक (मेटा) विज्ञापनमा ठूलो रकम खर्च गरेका छन् । मेटाको एड लाइब्रेरीबाट प्राप्त तथ्यांकअनुसार, विभिन्न राजनीतिक दलका आधिकारिक पेज, उमेदवारका निजी पेज र समर्थकका पेजहरूले हजारौँ अमेरिकी डलर विज्ञापनमा खर्चेका छन् ।
नेपालबाट ९० दिनमा फेसबुकमा गरेको विज्ञापनमा १ लाख ५ हजार ८३२ अमेरिकी डलर खर्च भएको देखिन्छ । यसलाई नेपाल राष्ट्र बैंकको फागुन २७ गतेको विनिमयदर प्रतिडलर १४७.२० ले गणना गर्दा करिब १ करोड ५५ लाख ७८ हजार ४७० रुपैयाँ हुन पुग्छ । उक्त रकमबापत फेसबुकमा ९ हजार ७९ विज्ञापन भएको देखिन्छ । यो विवरण मेटाको फेसबुक एड लाइब्रेरीबाट प्राप्त पछिल्लो ३ महिनाको तथ्यांकमा आधारित छ । यसले नेपाली राजनीतिमा बढ्दो डिजिटल प्रचार शैलीलाई देखाउँछ ।
निर्वाचनपछि उमेदवारहरूले धमाधम चुनावको खर्च विवरण बुझाइरहेका छन् । तर, उक्त विवरणमा फेसबुकमार्फत भएको विज्ञापन खर्चबारे खुलेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीलक्षित गरी विभिन्न उमेदवारहरूको प्रचार सामग्री ‘मेरो आवाज काउन्ट’ नामक फेसबुक पेजमार्फत अत्याधिक खर्चिएर प्रचारप्रसार भएको देखिन्छ । विगत ३ महिनाभर सबैभन्दा बढी खर्च गर्ने सूचीको पहिलो स्थानमा ‘मेरो आवाज काउन्ट’ देखिन्छ । जसले यसअवधिमा १२८ वटा विज्ञापनका लागि ४ हजार ४२३ अमेरिकी डलर खर्च गरेको छ ।
इस्तै, डा. अजय क्रान्ति शाक्यले फेसबुकमार्फत निर्वाचनलक्षित प्रचारमा २६५ वटा विज्ञापन गरे । उनले अजय क्रान्ति फलोअर्स फेसबुक पेजमार्फत गरेको उक्त प्रचारमा मात्रै ४ हजार ४३ अमेरिकी डलर खर्च गरेका छन् । यो नेपाली रुपैयाँमा उक्त विनिमयदरअनुसार, ५ लाख ९५ हजार १२९ रुपैयाँ पुग्छ । यसपछि साझा पार्टीले ५५ वटा विज्ञापनका लागि ३ हजार १९९ डलर खर्चेको छ । जुन नेपाली रुपैयाँमा ४ लाख ७० हजार ८९२ हुन आउँछ ।
डा. शाक्यले नेकपा (एमाले) बाट काठमाडौं क्षेत्र नम्बर ९ मा उमेदवारी दिएका थिए । तर, उनी पराजित भए । उक्त क्षेत्रमा रास्वपाबाट डीपी अर्याल निर्वाचित भए । अर्यालको सचिवालयले पनि फेसबुकमार्फत ३३२ अमेरिकी डलर खर्चेको देखिन्छ । यो नेपाली रुपैयाँमा ४८ हजार ८७० रुपैयाँ हुन आउँछ । तर, यसबाहेक विभिन्न फेसबुक पेजहरूमा पनि उनको प्रचारप्रसार भएको देखिन्छ । फेसबुक विज्ञापनमा चर्चित उमेदवारहरू, लाखौँ खर्चिएर पनि जितेनन्
निर्वाचनमा होमिएका स्थापित नेताहरूले पनि डिजिटल माध्यमलाई प्राथमिकता दिएको देखिन्छ । जसमा नैनसिंह महरले २ हजार ७३९ डलर खर्चेका छन् । जुन ४ लाख ३ हजार १८० रुपैयाँ बराबरको हो । कांग्रेसका महरले डडेलधुराबाट उमेदवारी दिएका थिए । उनले प्रचारप्रसारका लागि फेसबुकमार्फत उक्त रकम खर्चिए पनि जित निकाल्न सकेनन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ बाट उमेदवारी दिएका थिए । प्रधानमन्त्रीका लागि गगन नामक पेजले ३६० डलर खर्चेको देखिन्छ । उक्त पेजमा ५२ हजार रुपैयाँ हाराहारीमा खर्च भएको थियो । उनलाई केन्द्रित गरेर उक्त रकम खर्चिए पनि उनी पराजित भए ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक पेजले ४५१ डलर खर्चेको विवरणमा उल्लेख छ । यो नेपाली रकममा करिब ६६ हजार रुपैयाँ हुन आउँछ । रास्वपाले प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिटमा जित निकालेको छ । यद्यपि, रास्वपाका उमेदवारहरूले विभिन्न पेजहरूमार्फत सामाजिक सञ्जालहरूमा प्रचारप्रसार गरेको देखिन्छ ।
नेपाल कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेले पाल्पा–२ बाट उमेदवारी दिएका थिए । उनले फेसबुक विज्ञापनका लागि २ हजार ६६४ डलर खर्चेका थिए । जुन ३ लाख ९२ हजार रुपैयाँबराबर हो । उज्यालो नेपाल पार्टीका कुशल गुरुङले कास्की–२ बाट उमेदवारी दिएका थिए । उनले २ हजार ५५८ डलर विज्ञापनमा खर्च गरेका थिए । यो ३ लाख ७६ हजार रुपैयाँ बराबरको खर्च हो । प्रचारप्रसारमा उक्त रकम खर्चिएका उनी पनि पराजित भए ।
यस्तै, नवलपरासीपश्चिम–१ बाट उमेदवारी दिएका नेपाली कांग्रेसका उमेदवार उद्योगपति तथा नेता विनोद चौधरीले फेसबुक पेजमा १ हजार ५० डलर खर्च गरेका थिए । यो रकम १ लाख ५० हजार बराबर हो । चौधरी पनि पराजित भए ।
यस्तै, नेकपाबाट धादिङ–१ का उमेदवार राजेन्द्रप्रसाद पाण्डेले १ हजार १६ डलर फेसबुक विज्ञापनमा खर्च गरेको तथ्यांकले देखाउँछ । जुन नेपाली रुपैयाँमा १ लाख ४९ हजार रुपैयाँ हाराहारी हो । यद्यपि, पाण्डेलाई रास्वपाकी उमेदवार आशिका तामाङले पराजित गरिन् ।
अन्य दलका चर्चित नेताहरूले फेसबुकमा विज्ञापन गरेका थिए । राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले सर्लाही–२ बाट उमेदवारी दिएका थिए । उनले फेसबुक विज्ञपनामा १ हजार ३४ डलर खर्चेका थिए । यो नेपाली रुपैयाँमा १ लाख ५२ हजार हाराहारीमा हुन आउँछ । महतो पनि पराजित भए ।
जनमत पार्टीका डा. सीके राउतको सचिवालयले पनि १४५ डलर खर्च गरेको देखिन्छ । यो नेपाली रुपैयाँमा २१ हजार रुपैयाँ हाराहारी हो । काठमाडौं–५ बाट उमेदवारी दिएकी गतिशिल लोकतन्त्रिक पार्टीकी निशा अधिकारी (कलाकार) ले फेसबुक प्रचारमा उल्लेख्य खर्चिए पनि पराजय व्यहोरिन् । उनले फेसबुक पेजबाट २७ वटा विज्ञापन गर्दा १ लाख ८० हजार रुपैयाँ हाराहारीमा खर्च भएको देखिन्छ ।
फेसबुक विज्ञापनमा उमेदवारहरूका साथै विभिन्न राजनीतिक अभियानका पेजहरूले पनि उल्लेख्य रकम खर्चेका छन् । क्षितिज थेबे र उनको जिताऔँ अभियानले कुल ४ हजार ६ सय डलरभन्दा बढी खर्च गरेको देखिन्छ । उज्यालो नेपाल पार्टीसँग सम्बन्धित विभिन्न पेजहरूले पनि देशका विभिन्न स्थानबाट विज्ञापन गरेका छन् ।
विज्ञापनको संख्याका आधारमा हेर्दा केही पेजहरू अत्यन्तै सक्रिय देखिएका छन् । अजय क्रान्ति अनुयायीका २६५ वटा विज्ञापन रहेका छन् । यता वीरेन्द्र कनोडियाका १६० र देशको आशा नामक पेजका १४७ वटा विज्ञापन फेसबुकमा देखिएका छन् ।
पार्टीगत रूपमा हेर्दा गतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीका विभिन्न जिल्ला कमिटी र उमेदवारहरूले विज्ञापनमा लगानी गरेको देखिन्छ । काठमाडौं, मोरङ, दाङ र स्याङ्जा जस्ता जिल्लाहरूबाट विभिन्न उमेदवारका सचिवालयहरूले आ–आफ्ना पक्षमा माहोल बनाउन फेसबुकको सहारा लिए ।
पछिल्लो प्रवृत्तिलाई विश्लेषण गर्दै समाजशास्त्रीय अर्थशास्त्री डा. देवेन्द्र गौचन निर्वाचनका लागि गरेको यस्तो खर्च विवरणले नेपाली राजनीतिमा परम्परागत प्रचारको तुलनामा डिजिटल माध्यमको बढ्दो प्रभाव देखिएको औँल्याउँछन् । उनी भन्छन्, “विगत केही वर्षदेखि मोबाइल फोन र इन्टरनेटको पहुँच बढेसँगै डिजिटल मिडियाको प्रभाव ह्वात्तै बढेको छ । सामाजिक सञ्जालमा विज्ञापन गर्दा सूचना धेरै ठाउँमा पुग्ने भए तापनि यसले देशको अमूल्य विदेशी मुद्रा बाहिर पठाइरहेको छ ।”



