१०७.९ केजी गाँजासहित दुई जना र अटो नियन्त्रणमा
मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित देवकोट भित्री सडकखण्डबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
फागुन २५ गते सोमबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले देवकोटबाट सिमपानीतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ह २०७६ नम्बरको अटो शंकास्पद देखिएपछि रोकी जाँच गरेको थियो।
जाँचका क्रममा अटोभित्र राखिएका १० वटा पोकामा कुल १०७.९ केजी लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा अटो चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–६ धुसराङ बस्ने अन्दाजी ३३ वर्षीय सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका–२ सुनारी सौराह बस्ने अन्दाजी ३० वर्षीय सन्तबिर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिइएको छ।
प्रहरीले दुवै जनालाई इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुर ल्याएर थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया



