कोसीका पाँच सिटमा एमालेको अग्रता
कोसीका आधाबढि सिट रहेका तीन जिल्लामा शून्य बनेको एमालेले पहाडी जिल्लामा भने अग्रता लिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित झापाका ५, मोरङका ६ र सुनसरीका ४ वटै सिटमा एमाले उम्मेदवार पछि परे। दुई क्षेत्र रहेको उदयपुरमा पनि एमाले पछि छ। तर पाँचवटा पहाडी जिल्लामा भने एमाले उम्मेदवारले अग्रता लिएका छन्।
ताप्लेजुङमा क्षितिज थेबे, इलाम १ मा काजीमान कागते र २ मा सुहाङ नेम्बाङ, संखुवासभामा अर्जुन कुमार कार्की र धनकुटामा राजेन्द्र कुमार राईको अग्रता छ। धनकुटामा कांग्रेस उम्मेदवार दिनेश राईको भन्दा ५ हजार मत राजेन्द्रले ल्याएका छन्। राजेन्द्रको १६ हजार ७४७ र दिनेशको ११ हजार ७२३ छ।
संखुवासभामा कार्कीको ६ सय मत आउँदा रास्वपाका मिङमा शेर्पाको ५०४ मत छ। ताप्लेजुङमा क्षितिजले १३ हजार ५५४ मतसहित अग्रता लिँदा कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुको ११ हजार ४६१ मत छ।
इलाम १ मा एमालेका कागते ६६० मतले अगाडि छन्। उनले ३ हजार ९६९ मत ल्याउँदा कांग्रेसका निश्कल राईको ३ हजार ३०९ मत छ। इलामा २ मा सुहाङको ४ हजार बढिको मतान्तर छ। सुहाङले १६ हजार ३०६ र श्रम संस्कृतिका सुदिप राईको १२ हजार २६४ छ।
अहिलेसम्म एमालेले ३ सिट जित्दै ८ सिटमा अग्रता लिएको छ। जसमध्ये ५ सिट कोसीकै छन्।


