ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै झापा ५ मा बालेन विजयी
नेपाली राजनीतिको ‘न्यूक्लियर केन्द्र’ मानिने झापा क्षेत्र नम्बर ५ मा यसपटक अप्रत्याशित र ऐतिहासिक उलटफेर भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दशकौँदेखिको विरासतलाई भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतान्तरले विजयी भएका छन्।
रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका कारण देशभरकै नजर यो क्षेत्रमा थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले एमाले अध्यक्ष ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा खुम्चिएका छन्। काठमाडौँ महानगरपालिकाको प्रमुख पद त्यागेर राष्ट्रिय राजनीतिमा होमिएका बालेनका लागि यो जितले प्रधानमन्त्रीको दौडमा वैधानिकता प्रदान गरेको छ।
झापा–५ विगत तीन दशकदेखि केपी शर्मा ओलीको निर्विकल्प किल्ला मानिन्थ्यो। २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट सक्रिय ओलीले २०५६ मा बाहेक यहाँ कहिल्यै हार व्यहोर्नु परेको थिएन। विशेषगरी २०७४ र २०७९ को निर्वाचनमा ओलीले यहाँबाट फराकिलो मतान्तरसहित जित निकाल्दै आफ्नो ‘अजेय’ छवि बनाएका थिए तर, २०८२ को राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनको रापले यसपटक झापाको जमिनमा नयाँ राजनीतिक अंकुरण गरिदियो। काठमाडौँ महानगरमा देखाएको कार्यक्षमता र सुशासनको हुटहुटीलाई रास्वपाको संगठनात्मक शक्तिको काँध मिलेपछि बालेनका लागि झापाको चुनावी मैदान ‘क्लीन स्वीप’ गर्ने आधार बन्यो।
२०७९ को आम निर्वाचनमा ओलीले यसै क्षेत्रबाट नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए। त्यतिबेला ओलीले ५२ हजार ३१९ मत ल्याउँदा अधिकारीले २३ हजार ७४३ मत पाएका थिए। तर, तीन वर्षको अन्तरालमा झापा ५ को चुनावी मौसम पुरै बदलियो। २०७९ मा ५२ हजार बढी मत ल्याएका ओली अहिले १८ हजारमा झर्नुले एमालेको परम्परागत भोट बैंकमा ठूलो पहिरो गएको पुष्टि हुन्छ।
उता, बालेनले प्राप्त गरेको ६८ हजार मतले झापामा पहिलोपटक ‘स्विङ भोटर’ र युवा मतदाताको पूर्ण ध्रुवीकरण भएको देखाउँछ। लामो समय सत्ताको केन्द्रमा रहेका ओलीको कार्यशैली, विचौलियासँगको निकटता र संसद् विघटन जस्ता पुराना मुद्दाहरूका कारण मतदातामा देखिएको वितृष्णालाई बालेनले क्यास गरे। काठमाडौँबाट सुरु भएको युवा विद्रोहको लहर झापाका चिया बगानदेखि सहरसम्म पुग्दा पुराना दलका हस्तीहरू रक्षात्मक बने।
बालेनको यो जितसँगै अब रास्वपा संसद्मा झन् बलियो शक्तिका रूपमा उदाएको छ। झापा–५ को यो नतिजाले केवल एउटा सिटको मात्र फैसला गरेको छैन, यसले नेपाली राजनीतिमा ‘बाजे पुस्ता’ को बिदाइ र ‘नाति पुस्ता’ को उदयको वैधानिक घोषणा समेत गरिदिएको छ।


