१५ हजार मतान्तरले वर्षमान पुन विजयी
दश वर्षे सशस्त्र विद्रोहको उद्गमस्थल रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विरासत मात्र जोगाएको छैन, मतान्तरको नयाँ कीर्तिमान समेत कायम गरेको छ। नयाँ शक्ति सन्तुलन र बदलिँदो राजनीतिक समीकरणका बीच रोल्पाले फेरि एकपटक माओवादी पृष्ठभूमि भएका नेता वर्षमान पुनलाई नै अनुमोदन गरेको छ।
नेकपाका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भएका छन्। निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार, पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
पुनले कुल २७ हजार ४६० मत प्राप्त गर्दा कांग्रेसका वलीले १२ हजार ८ मतमा चित्त बुझाए। यस्तै, नेकपा एमालेका उम्मेदवार बालराम थापा १० हजार ८९४ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्।
यस जितसँगै वर्षमान नेकपाभित्र सबैभन्दा बढी मतान्तरले विजयी हुने एक्ला नेता बनेका छन्। रोल्पाको भुगोल र मनोविज्ञानमा आफ्नो पकड कायमै राख्दै पुनले अघिल्लो निर्वाचनको विरासतलाई अझ मजबुत बनाएका हुन्। उनी यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
सत्ता समीकरण र पार्टीभित्रको शक्ति संघर्षमा निर्णायक मानिने पुनको यो ‘रेकर्ड’ जितलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। आफ्नै पूर्व सहयात्री दल एमाले र मुख्य प्रतिस्पर्धी कांग्रेस दुवैलाई ठूलो मतान्तरले पछि पार्दै पुनले रोल्पामा नेकपाको ‘लालकिल्ला’ सुरक्षित राखेका छन्।


