घरदैलो सकिएपछि एमालेको दाबीः मकवानपुरका दुवै क्षेत्रमा जित हाम्रो हुन्छ

पालिका डायरी
१८ फाल्गुन २०८२, २०:१३
घरदैलो सकिएपछि एमालेको दाबीः मकवानपुरका दुवै क्षेत्रमा जित हाम्रो हुन्छ

प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार अवधि सकिन लाग्दा नेकपा एमाले मकवानपुरले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ । एमालेका जिल्ला नेताहरूका अनुसार घरदैलो, कोणसभा र जनभेटघाटका क्रममा मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भएको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ दुवैमा पार्टीका उम्मेदवारप्रति जनलहर देखिएको एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले बताए ।

उनका अनुसार दुवै क्षेत्रमा सन्तोषजनक मतान्तरसहित एमालेका उम्मेदवार विजयी हुने अंकगणित देखिएको हो । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना शालिन र सादगी नेता भएकै कारण एमालेको मात्रै नभएर अन्य दलको मत समेत प्राप्त हुने बताइएको छ । तत्कालन जिल्ला विकास समितिको सभापति हँुदा जिल्लामा बसाइएको विकासको जग नै रानाको जित्ने आधार बनेको लामाले बताए ।

यस क्षेत्रमा एमालेले आफ्नो संगठन बलियो रहेको र विकास निर्माणका एजेन्डाले मतदाता आकर्षित गरेको दाबी गरेको छ भने क्षेत्र नम्बर २ मा पनि अघिल्ला निर्वाचनको मतपरिणाम र पछिल्लो राजनीतिक समीकरणका आधारमा आफूहरू अग्रस्थानमा रहेको दाबी गरिएको छ ।

यसअघि ५ दलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्दै विजयी भएका महेश कुमार बर्तौला मकवानपुर–२ का उम्मेदवार बनेका हुन् । जितेर गएपछि निर्वाचन क्षेत्र सहित सिंगो मकवानपुरको समस्या सदनमा उठाउने, सुकुम्बासीलाई लालपुर्जा दिलाउन खेलेको भूमिका र मध्यवर्ती क्षेत्रको समस्या हल गर्न गरिएको पहलकदमीका कारण बर्तौलालाई यस क्षेत्रका मतदाताले रुचाएको एमाले मकवानपुरका नेताहरु बताउँछन् ।

एमाले नेतृत्वले “स्थिर सरकार, विकास र समृद्धि” लाई मुख्य चुनावी नाराका रूपमा अघि सारेको छ । मतदाताले विगतको कामको मूल्याङ्कन गरेर सूर्य चिह्नमा मतदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया