निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
रामेछापमा भएका निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ ।
सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका सात जनामध्ये थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रामेछाप प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो ।
उनी रामेछाप नगरपालिका-३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयमा कार्यरत थिए । उनी निमावि द्वितीय तहका शिक्षक हुन् । यसअघि दुर्घटनामा असई पर्शुराम यादवको मृत्यु भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन तिमिल्सनाले जानकारी दिए । उनका अनुसार बाँकी घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित मतपेटिका र आवश्यक कागजात रहेका थिए ।


