रामेछाप गाडी दुर्घटनामा असईको मृत्यु
रामेछापमा निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।
दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा सात जना घाइते भएका छन । घाइतेलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ ।
घाइते सात मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार ३ जनाको अवस्था भने सामान्य छ । गाडीमा ११ जना सवार रहेका थिए । गाडी दुर्घटना भएपछि तीन जनाले हाम फालेको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचनको सामग्री र कर्मचारी बोकेर रामेछाप सदरमुकाम मन्थलीबाट नगरपालिका-२, देउराली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारी डाँडामा दुर्घटना भएको हो । गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीसहित मतपेटिका र आवश्यक कागजात रहेका थिए ।
दुर्घटना भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सई रमेशबहादुर थापाको कमाण्डमा ११ जनाको टोली खटिएको थियो । नौ जना गोताखोर र एक जना डीएमसहितको टोलीले घाइतेको उद्धार गरेर अस्पताल पठाएको हो ।
मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएकाे छ ।


