लवशेर विष्टको प्रतिवद्धताः गाँजा वैधीकतादेखि सुरुङमार्ग निर्माणको पहलसम्म
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका लवशेर विष्टले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका छन्। सोमबार (आज) आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मकवानपुर–२ को समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न प्रतिवद्धता सार्वजनिक गरेका हुन्।
विष्टले विशेषगरी गाँजा खेतीलाई कानुनी मान्यता दिलाई आयआर्जनको भरपर्दो स्रोतका रूपमा विकास गर्न पहल गर्ने बताए। मकवानपुर–२ मा परम्परागत रूपमा हुँदै आएको गाँजा खेतीलाई वैधानिकता दिलाउन आफूले संसदमा कानुन संशोधनका लागि पहल गर्ने उनको प्रमुख एजेण्डा रहेको छ।
त्यस्तै, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्ने उनले बताए। प्रचलित कानुन परिमार्जन गरी लालपुर्जा वितरण प्रक्रियालाई प्रभावकारी बनाइने र एकीकृत बस्ती विकासको अवधारणालाई अघि बढाइने उनको भनाइ छ।
नदी तटीय क्षेत्रका बस्ती संरक्षण, झोरा नियन्त्रण तथा सुरक्षित मानव बस्ती विकासमा विशेष पहल गरिने उनले उल्लेख गरे। शिक्षा क्षेत्रमा गुणस्तरीय र सर्वसुलभ पहुँच सुनिश्चित गरिने उनको प्रतिवद्धता छ। भौतिक पूर्वाधारतर्फ चित्लाङ–चन्द्रागिरी सुरुङमार्ग निर्माणमा पहल, आवश्यक स्थानमा पुल तथा भवन निर्माणलाई प्राथमिकता दिइने उनले बताए। साथै, मकवानपुर–२ का पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनमा जोड दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ।
खेलकुद पूर्वाधार विकास, खेतीयोग्य जमिनमा सिंचाइ सुविधा विस्तार, कृषिमा आधुनिकीकरण तथा किसानलाई समयमै बिउ–मल उपलब्ध गराउने व्यवस्था मिलाइने उनले बताए। स्वास्थ्य क्षेत्रमा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरी सहज र छरितो सेवा प्रवाह सुनिश्चित गरिने पनि उनको प्रतिवद्धता छ।


