थाहामा दुई घरमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब सात लाख रुपैयाँ बराबरको क्षति

पालिका डायरी
१८ फाल्गुन २०८२, १०:१३
थाहामा दुई घरमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब सात लाख रुपैयाँ बराबरको क्षति

मकवानपुरको थाहा नगरपालिका–२ मा फरक–फरक समयमा भएका दुई आगलागी घटनामा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अर्को घरमा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आइतबार (हिजो) साँझ करिब ९:०० बजे थाहा नगरपालिका–२ अंगारे निवासी गुप्त कार्कीको नयाँ घरसँगै रहेको जस्तापाताले छाइएको पुरानो कच्ची घरमा पूजा गर्ने क्रममा बालिएको दियोबाट आगो सल्किएको थियो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको कमान्डमा १५ जना र सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको कमान्डमा १० जना नगर प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट गुप्त कार्कीकी श्रीमती ६१ वर्षीया सान्नानी कार्की धुवाँका कारण निस्सासिएर बिरामी भएकी छन्।

उनको उपचार प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ। उक्त घटनामा घर आंशिक रूपमा जलेको छ भने काठ, अन्नपात तथा कागजातसमेत गरी करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। चौपायातर्फ कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

त्यस्तै, आइतबार नै राति करिब १०:३० बजे थाहा नगरपालिका–२ टौखेल निवासी चन्द्रबहादुर देउलाको  ढुंगा–माटोले बनेको, जस्तापाताले छाइएको मानिस नबस्ने पुरानो कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको कमान्डमा १५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको कमान्डमा १० जनाको नगर प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।

प्रतिक्रिया